काँग्रेसको नीति अधिवेशन दसैं अघि

सानेपा । नेपाली काँग्रेसको जिल्ला सभापतिहरूको भेला पार्टी कार्यालय सानेपा ललितपुरमा सुरु भएको छ । भेलामा काँग्रेसको जिल्ला कार्यसमितिका अधिकाधिक सभापति सहभागी छन् ।
१४ औँ महाधिवेशनपछि काँग्रेसले जिल्ला सभापतिहरूसँग संयुक्त रूपमा अलग्गै छलफलको आयोजना गरेको यो नै पहिलो पटक हो ।
भेलामा महामन्त्री द्वय गठन थापा र विश्व प्रकाश शर्माले नै जिल्ला सभापतिहरूसँग अन्तरक्रियात्मक छलफल गर्ने, जानकारी लिने र निर्देशन दिने कार्यक्रमहरू छ ।
सभापतिहरूलाई स्वागत गर्दै काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले, दसैँ अघि नै पार्टीको नीति महाधिवेशन गर्ने तयारी भइरहेको बताए । केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार र ३२९ वटा स्थानीय सरकारको नेतृत्वमा काँग्रेस रहेकाले काम गरेर देखाउनुपर्ने बताए।
छलफलमा क्रियाशील सदस्यता र काँग्रेस सदस्यता वितरणबारे छलफल भइरहेको छ ।
विधानअनुसार गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायत साङ्गठनिक विषयमा पनि छलफल हुने बताइएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकबाट जिल्ला सभापतिहरूसँग भेला गर्ने निर्णय लिएर भेला आयोजना गर्नुपर्ने पूर्वाभ्यास भए पनि महामन्त्री थापा र शर्माले केन्द्रीय समितिको सम्मुखमै जिल्ला सभापतिहरूको भेला राखेका हुन् ।
महामन्त्री द्वय थापा र शर्माकै संयोजनमा हालै मात्र काँग्रेसले अनलाइनबाट क्रियाशील सदस्यता वितरण सुरु भएको छ ।
भेलामा आउँदा जिल्ला सभापतिहरूलाई आफ्नो जिल्लाअन्तर्गतका विभिन्न जानकारी र वडा तहसम्मको सम्मेलन गर्ने बारेको योजना समेत साथ लिएर आउन निर्देशन गरिएको छ ।