एमाले अध्यक्ष ओली कांग्रेसलाई प्रभावित पार्ने खेलमा लागे : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।
शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)को सम्पर्क सन्देश विमोचन समारोहमा अध्यक्ष नेपालले काँग्रेसले सरकार चलाएर साथ दिन तयार रहेको भन्दै ओली सत्ता गठबन्धनमा फुट ल्याउने खेलमा लागिपरेको बताए ।
उनले ओलीले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई ढालेर शेरबहादुरलाई अघि बढाउँन अनैकौ प्रयास गरेको आरोप लगाए ।
उनले भने,‘ अहिले पत्रिकामा पढ्नुभएको होला । केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस् साथ दिन तयार छु भनिराछन् । कस्तो विडम्बना त्यो कम्युनिष्ट पार्टीको चरित्र कस्तो होला । कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको सरकारलाई ढालेर शेरबहादुर दलाल पुँजीवादसँग आफुलाई जोडेका छन् शब्दले मात्र । उसैलाई अघि बढाउँन अनैकौ प्रयास गरेका छन् ।’
नेता नेपालले आफूहरुले चालिरहेको कदमलाई ओलीले सकारात्मक रुपमा नलिएको भन्दै ओलीलाई खराब चरित्र भएको व्यक्तिकोरुपमा टिप्पणी गरे ।














