डिलु पराजुलीद्वारा एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उमेदवारी घोषणा

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया,अमेरिका/ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद(एनसीसी) अमेरिकाका उपाध्यक्ष डिलु पराजुलीले आगामी कार्यकालको अध्यक्ष पदमा आइतवार उमेदवारी घोषणा गरेका छन्।
पराजुली सदस्यता विस्तार समितिका संयोजक पनि थिए।’आजबाट म सदस्यता विस्तार समितिको जिम्मेवारीबाट अलग भए र अब अध्यक्षका लागि उमेदवार घोषणा गर्दछु।’ समाज टाइम्स सँग पराजुलीले भने।
‘गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउन तागत भएको व्यक्तिले मात्र गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइ दिन सक्छ ।’ सामाजिक सञ्जालबाट उमेदवारी घोषणा गर्दै पराजुलीले भनेका छन्।
उनले गफ नभइ काम गर्ने मान्छे चाहिने समेत उल्लेख गरेका छन्। ‘गफ होइन काम, समर्पण र साथ–सहयोगले मात्र समाजको सुखदुखको सच्चा सारथि बन्न सकिन्छ ।’ पराजुलीले अगाडि लेखेका छन्, ‘यही विश्वासका साथ गैर आवासीय नेपाली सङ्घ अमेरिकाका लागि २०२३–२५ कार्यकालको नेतृत्वका लागि आफ्नो उम्मेदवारी दिने निष्कर्षमा पुगेको छु ।’
नेपालमा नवलपरासीका पराजुली अमेरिकामा केन्टकी राज्यमा बसोबास गर्दै आएका छन् । उनी दुई कार्यकाल केन्टकी राज्य च्याप्टर सभापति भए पछि एनसीसी अमेरिकाको उपाध्यक्ष बनेका हुन्।
पराजुलीले केन्टकी लगायतका राज्यमा व्यवसाय गर्दै आएका छन्। पराजुलीले जुन दश तारिक आफ्नो गृहराज्य केन्टकीमा घोषणा पत्र सार्वजनीक गर्ने बताएका छन्।
‘एनआरएनएको विधानले प्यानल बनाएर चुनावमा जान दिदैन, अर्को कुरा अध्यक्षमा मेरो उमेदवारी आधिकारी रुपमा आएको थिएन, आजबाट म अध्यक्षको उमेदवार हो भन्ने भयो, अब घोषणा पत्र सार्वजनिक गरे पछि साथीहरु सँग सरसल्लाह गर्छु कसरी अगाडि जाने भनेर।’ पराजुलीले भने।
उनले एनआरएनए अमेरिकाका अर्का उपाध्यक्ष समुन थापा सँग आफु नियमित सम्पर्कमा रहेको र आफुहरु एकै ठाँउमा रहने विश्वास व्यक्त गरे। ‘म र सुमन जी सँगै छौं, नियमित सम्पर्क र सल्लाहमा छौ। हामी सँगै नै अगाडि बढ्छौ भन्ने नै मेरो विश्वास छ।’
उपाध्यक्ष थापा आफै अध्यक्ष पदमा दावेदारी गर्दै आएका छन्। पराजुली र थापा अहिले सम्म संस्थापन पक्षमा रहेका छन्। संस्थापनले थापालाई पराजुली टिममा बरिष्ठ उपाध्यक्ष बनाउन प्रयास गरिरहेको छ। थापा भने आफु अध्यक्ष बाहेक अन्य पदमा उमेदवारी नदिने बताउदै आएका छन्।
संस्थापन इतर पक्षबाट डा. अर्जुन बञ्जाडेले उमेदवारी घोषण गरिसकेका छन्। उनले जुन ११ तारिक टेक्सासमा कार्यक्रम गर्दै छन्।