नक्कली भुटानी शरणार्थी प्रकरण : पहिलो दिन दुई सरकारी वकिलले गरे बहस
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार दुई जना सरकारी वकिलले दिनभरी बहस गरेका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरू भएको बहसको पहिलो दिन सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता महेशप्रसाद खत्री र जनकप्रसाद घिमिरेले बहस गरेका हुन्।
यस प्रकरणमा बहस गर्न छुट्याइएको तीन दिनको पहिलो दिन उनीहरुले आफूहरूले अदालतमा पेश गरेका प्रमाण, तथ्य नै अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउन पर्याप्त आधार भएको जिकिर गरेका छन् ।
सोमबार र मंगलबार पनि सरकारी वकिलले नै बहस गर्नेछन् भने त्यसपछि अर्को मंगलबार सम्म भने प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्नेछन्।
पहिलो दिनको बहसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई उपस्थित गराइएको थियो ।
जेठ ३१ गतेसम्म बहस हुने र त्यसै दिन आदेश गर्ने तयारी न्यायाधीश न्यौपानेको छ ।