नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ विरुद्ध अदालतमा बयान हुँदै
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका विरुद्धको अदालतमा बयान आज मङ्गलबारबाट पुनः सुरु हुने भएको छ । सार्वजनिक बिदाका कारण सोमबारको बयान रोकिएको थियो ।
गत १२ जेठबाट पक्राउ परेका विरुद्धको बयान जिल्ला अदालतमा जारी छ । यसक्रममा पक्राउ परेका मध्ये मुख्य बिचौलिया केशव दुलाल, सागर राई, टङ्क गुरुङ, सन्दीप भण्डारी, लक्ष्मी महर्जनको बयान सकिसकेको छ ।
दुलाल र राईको १२ जेठमा बयान भएको थियो भने, गुरुङ, भण्डारी र महर्जनको १४ जेठमा बयान भएको थियो । उनीहरूले अदालतमा इन्कारी बयान दिएका छन् ।
पक्राउ परेका डा. इन्द्रजित राईको पनि १४ जेठमै बयान तोकिएको थियो । तर, स्वास्थ्यको कारण देखाउँदै उनले बयान दिन अस्वीकार गरेका थिए । उनको बयान आजै हुनेछ । उनीहरूसँगै सानु भण्डारी, सन्देश शर्माको पनि बयान लिने अदालतको तयारी छ ।
घटनामा १६ अभियुक्त पक्राउ परेका छन् । १४ फरार छन् । अनुसन्धानको ६० दिनपछि अभियुक्त विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । उनीहरु विरुद्ध लिखत किर्ते, राज्य विरुद्धको कसूर, सङ्गठित र ठगी कसुर अन्तर्गत मुद्दा चलाइएको छ ।
उनीहरु विरुद्ध नक्कली शरणार्थीका नाममा ठगी भएको भन्दै एक सय १२ पीडितले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्दामा २६ करोड ७४ लाख रुपैयाँ ठगी भएको भन्दै बिगो दाबी भएको छ ।