संयुक्त समितिमा लैङ्गिक समानता सम्बन्धि निर्देशन समिति पनि होस् : सांसद पौडेल
काठमाडौं । नेकपा एमालेका सांसद डा.विकमला राई पौडेलले संयुक्त समितिमा लैङ्गिक समानता सम्बन्धमा निर्देशन तथा अनुगमन समिति रहने व्यवस्था गर्न सुझाव गरेकी छिन् ।
आईतवार संघीय संसदको संयुक्त बैठक पेश भएको संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भाग लिदैं सांसद पौडेलले यस्तो सुझाव दिएकी हुन् । उनले लैङिगक विभेद र हिंसा अन्त्य गर्ने सम्बन्धि कानुन संरचना, निमार्ण र कार्यान्वयनको अनुगमन गर्ने सम्बन्धमा छुट्टै संयुक्त समिति रहनु पर्ने भन्दै यसको व्यवस्थाको लागि सुझाव गरेकी हुन् ।
उनले भनिन्, ‘ संविधानको भावना अनुरुप राज्यका सबै निकाय र तहमा लैङिगक समानता सुनिश्चित गर्ने तथा लैङिगक विभेद र हिंसा अन्त्य गर्ने सम्बन्धी कानुन संरचना निमार्ण र कार्यान्वयनको अनुगमन गर्ने सम्बन्धमा आवश्यक निर्देशन गर्न, विशेष छलफल गरी समान धारणा बनाउन र सम्बन्धित निकायका काम कारवाहीलाई संयुक्त रुपमा अनुगमन गर्न गराउन एक छुट्टै संयुक्त समिति लैङिगक समानता सम्बन्धमा निर्देशन तथा अनुगमन समिति रहने छ भनेर यस्तो खालको व्यवस्था गरौ भनेर मेरो संशोधनको लागि सुझाव हो ।’