अमेरिकाको ह्यारिसबर्गमा पञ्चदिवसीय भगवद् प्राणप्रतिष्ठा महोत्सव हुदै

Getting your Trinity Audio player ready...
|
ह्यरिसबर्ग,पेन्सिलभेनिया/ अमेरिकाको पेन्सिलभेनियाको राजधानी ह्यारिसबर्गमा पञ्चदिवसीय भगवद प्राणप्रतिष्ठा हुने भएको छ।
श्रीवैष्णव परिषद् ह्यारिसबर्गले प्राणप्रतिष्ठाको आयोजना गर्न लागेको हो।
ह्यारिसबर्गमा रहेको श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्मृति पीठमा मे २० देखि २४ तारिक सम्म प्राणप्रतिष्ठा हुने छ।
‘पाञ्चरात्रागमानुसार भगवान श्रीलक्ष्मीनारायण,श्रीदेवी,भूदेवी,गोदादेवी एवं आल्वार आचार्यहरुका दिव्य विग्रहहरुको प्राणप्रतिष्ठा महोत्सव गरिने कार्यक्रम रहेको छ।’ परिषद्द्वारा भक्तजनमा प्रेसित निमन्त्रणा पत्रमा उल्लेख छ।
महोत्सवमा विशिष्ट आचार्य तथा शास्त्रमर्मज्ञ विद्वानहरुका मुखारविन्दबाट दिव्य कथा प्रवचन,चारवेद,पुराण,इतिहास,उपनिषद् तथा दिव्यप्रवन्धहरुको पारायणका साथै भगवन्नामसंकीर्तनका कार्यक्रम पनि हुने जनाइएको छ।
आयोजक मध्येका एक रुपेन्द्र सुवेदीका अनुसार इच्छुकले महोत्सवमा कर्ता हुन पाउने छन्। कर्ता बन्न चाहानेले आयोजकलाई सम्पर्क गर्न सक्ने छन्।
अर्का आयोजक देवनारायण घिमिरेका अनुसार प्राणप्रतिष्ठान शुरु हुनु अघिल्लो दिन मे १९ तारिक शोभा यात्रा हुने छ। शोभा यात्रा विहान साँढे दश देखि ११ बजे हुने छ। सोही दिन दिउँसो एक देखि चार बजे सम्म महोत्सवको उद्घाटन हुने छ।