नागरिकता विधेयक प्रमाणिकरण नगर्न पूर्व सुरक्षाकर्मी परिषद् नेपालको माग
काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले नेपालमा भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाही गर्न, राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गर्न र संक्रमणकालीन न्याय टुँगोमा पुर्याउन माग गरेको छ ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद्ले यस्तो माग गरेको हो । नागरिकता विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएउँदै यो विधेयक राष्ट्रघात र नेपालको हितविपरितमा भएर प्रमाणीत नगरेको विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्न खोजीरहेको परिषद्को भनाई छ । राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरणका लागि न्यायिक परामर्श लिइरहेको बेला पूर्वसुरक्षाकर्मी परिषद् नेपालले पत्रकार सम्मेलन आयोजना गरेर उक्त विद्येयक कुनैपनि हालतमा प्रमाणीकरण नगर्न दबाब दिएको हो ।
कार्यक्रममा अधिवक्ता डा सुरेन्द्र भण्डारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी हुनका लागि चाहिने कानूनी पक्रियाहरु के कति पूरा भएको वा नभएको गम्भीर कानूनी प्रश्न खडा भएको बताए। ठगी प्रकरणमा पक्राउ परेका र संलग्न रहेका व्यक्तिहरुलाई चोख्याउने खेल त कतै भइराखेको छैन भन्ने गम्भीर प्रश्न उठेको पनि उनले टिप्पणी गरे ।
उनले उक्त प्रकरण गम्भीर मानव तस्करीको अपराध भएको र उक्त मुद्दामा गम्भीर तरिकाले छानबिन अगाडि नबढाएको आरोप लगाए। यसको अनुसन्धान नै भोलि धरौटीमा रिहा हुने र मुद्दाको अन्तिम फैसला हुने वातावरण नै नबनाएर सबैले छुटकारा पाउने सम्भवना रहेको पनि उनले खतरा औंल्याए ।
नेपालको अन्तर्राष्ट्रिय छविलाई गिराउने, मित्रराष्ट्रलाई ढाँट्ने र छल्ने काम यो मुद्दामा भएको उनले बताए। उनले उक्त प्रकरण राजद्रोहअन्तर्गत पर्ने राजद्रोहअन्तर्गत मुद्दा चलाइनुपर्ने माग गरे । तर, त्यसअन्तर्गत छानबिन तथा अनुसन्धान नभएको उनको आरोप छ।
सम्पूर्ण सरकारी कागजातहरुको पनि उक्त प्रकरणमा किर्ते गरिएको हुँदा सरकारी कागजात किर्तेमा पनि मुद्दा चलाइनुपर्ने उनको माग छ । ‘को भुटानी शरणार्थी हुन या होइनन्’ भन्ने कुरा संयुक्त राष्ट्रसंघमा पेश भएको नेपालीलाई त्यो लिष्टभित्र राखेर नेपाली नागरिकलाई भुटानी शरणार्थी हुन भनेर पठाइएको क्रियाकलापहरु अन्तर्राष्ट्रिय अपराधभित्र पनि पर्ने र सोअन्तर्गत मुद्दा चलाउनुपर्ने उनको माग रहेको छ।
यस्तै, यो प्रकरण भ्रष्टाचारअन्तर्गत पर्ने भएकोले त्यसअनुसार पनि अनुसन्धान हुनुपर्ने उनको माग रहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खेलेको भूमिकाको भने उनले खुलेर प्रशंसा गरे ।
उक्त प्रकरणमा नेपाली कांग्रेसकी सांसद् डा. आरजु राणा देउवाले आफैंले संसद्मा बोलिसकेको र त्यो व्यक्तव्य उनीमाथि छानबिनका लागि पर्याप्त भएको र उनीमाथि छानबिन हुने वा नहुने भन्ने कुरा अब हेर्न बाँकी रहेको उनको टिप्पणी छ ।
नेपालीहरु अमेरिकामा जानुनै आफ्नो सफलता ठान्नेमा यो मुलुक किन यसरी पुग्यो भन्दै उनले प्रश्न गरे। राजनीतिक भ्रष्टाचारले नै यस्तो अवस्था सिर्जना भएको उनको ठहर छ ।
नागरिकता विधेयकको बारेमा एउटा संसद्मा पेश भएको कुनैपनि विधेयक त्यो संसद विघटन भएमा वा त्यो संसदको अवधि समाप्त भएमा त्यो विधेयक निश्क्रिय हुने संविधानमा व्यवस्था भएको पनि उनले स्मरण गराए । उनले संविधानमा त्यस्तो व्यवस्था हुँदाहुँदै वर्तमान राष्ट्रपतिले उक्त विधेयक प्रमाणीत गर्न खोजिरहँदा त्यसले पनि शंका जन्माएको बताए ।
उनले यदि राष्ट्रपतिले प्रमाणीत गरेमा त्यो संविधानविपरीत गलत काम हुने र नागरिक डटेर सामना गर्नेे चेतावनी पनि दिए। ‘संसद्ले आफ्नो प्रक्रियाबाट छलफल गरेर नयाँ नागरिकता विधेयक ल्याएर छलफल गरेर अनि पारित गरेर राष्ट्रपतिकोमा नियमित प्रकियमा गएर पारित गर्न सकिन्छ,’–उनले भने।
संवैधानिक प्रकियाबाट बाहिर गएर प्रमाणीत नगर्न उनले राष्ट्रपतिलाई सुझाव दिए। उनले भने,‘यदि तपाईंको कुनै निजी स्वार्थ रहेको छ भने तपाईंको निजी स्वार्थबाट मुलुकलाई खतरामा राख्न पाईंदैन।’
द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाका वरिष्ठ उपाध्यक्ष एवं संयोजक रिता कार्कीले ३० दिनसम्म सडकमा आन्दोलन गरेकोबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्तामा ल्याउन पहलकदमी थालेको र त्यो वार्ता छिटोभन्दा छिटो गर्नको लागि आग्रह गरिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुरुषमात्र नभई महिलाले पनि भ्रष्टाचार गरेको भए पनि ती महिलालाई पनि समान हकअधिकारसहित कठघरामा उभ्याउन आग्रह गरिन्। यस्तै, उनले द्वन्द्वमा परेका सुरक्षाकर्मीहरुलाई विधेयकमा समेटेर चाँडो न्याय दिन आग्रह गरिन्।
यस्तै, सुरक्षाकर्मी परिषद् अध्यक्ष कोमल बहादुर रावतले राष्ट्रियताको विषयमा सुरक्षाकर्मी परिषद्ले यस्ता कार्यकर्महरु आयोजना गरिरहेको बताए। सो क्रममा उनले राष्ट्रपति कार्यालयमा हालै बुझाएको विज्ञप्ती वाचन गरेर सुनाएका थिए । उनले पनि नागरिकता विद्येयक नेपाल र नेपालीको हितमा नभएको भन्दै पारित नगर्न चेतावनी दिए ।
यस्तै, परिषद्का केन्द्रीय उपाध्यक्ष तथा पूर्व डिएसपी खगेन्द्रराज बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिले नेपालीको कलेजो छियाछिया बनाएको बताए । उनले सो प्रकरणमा राजनीतिक भिआइपीहरुलाई छानबिनमा ल्याइएको र फरार रहेको टोपबहादुर रायमाझीलाई नभाग्न र कानूनी प्रक्रियालाई सहयोग गर्न आग्रह गरे। उनले सरकारले कसैको पनि दबाबमा नपरी अनुसन्धानलाई निश्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए ।
यस्तै, पूर्वराजदूत एवं पूर्व जनरल भरतबहादुर रायमाझीले सुरक्षा परिषद्ले आजको पत्रकार सम्मेलनमा राखेको विषय अन्तर्राष्ट्रिय चासोको विषय भएको बताए । उनले सडक आन्दोलन गर्नुपर्ने र सडक आन्दोलनबाहेकको नतिजा सबैलाई मान्य नहुने बताए ।
उनले भने,‘हामीले सडक आन्दोलनमा गएनौ भने केही वर्षभित्र हुनसक्छ राष्ट्रको अस्तित्वपनि डुबाउछ। यसकारण सबैले सडक आन्दोलनमा ध्यान दिउँ । त्यही सडक आन्दोलनबाट अहिले भइरहेका प्रकरणहरु मानव तस्करी, द्धन्द्ध पीडितको समस्यालाई समाधान गर्न एउटा निश्पक्ष बलियो आयोग गठन गरेर मात्र सम्भव हुन्छ । नत्र हुँदैन, विगतको अनुभवले पनि त्यही देखाउँछ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा महान्यायधिवक्ता र प्रहरी प्रमुखले बोल्नुपर्ने तर उनीहरुले केही नबोलेको उनको आरोप छ । उनले यसले न्याय प्रकिया आशा नदिएको गुनासो पोखे । वर्तमान राष्ट्रपतिले प्रस्तावक पनि नभएको विधेयकलाई कसरी प्रमाणित गर्न सकिन्छ भनेर छलफल गर्नु गलत भएको बताए । उनले मानव तस्करी हुँदापनि सरकार कानमा तेल हालेर बसिरहेको आरोप लगाउँदै सडक आन्दोलनमा नगए समस्याहरु नसुध्रिने र राष्ट्र तल खस्किने दाबी गरे।
यस्तै, पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले उनले नेपालमा लुटेराहरुले कसको लागि के गरेको भन्दै प्रश्न गरेका छन्। उनले भ्रष्टाचारीहरुलाई झुण्ड्याउनका लागि कानून र संविधान संशोधन गर्नुपर्ने माग गरे । उनले देशले माग्छ भने एक जना मरेर वा थुनिएर केही नहुने भन्दै देश र माटो जोगिनुपर्ने बताए ।
‘भ्रष्टाचारीहरु स्वास्नी बचाउनका लागि, आफ्ना मान्छे बचाउनका लागि अहिले कहिले बालुवाटार कहिले के टार त कहिले के टार तपाईंको भक्तपुरमा दौडधुप हेर्नुस्। देश लुटेराहरुले खोक्रो बनाए, अहिले देशमा जङ्गबहादुर थिए भने वा पृथ्वीनारायण थिए भने राजा महेन्द्र थिए भने यी उहिल्यै झुन्डिनेथे,’उनले भने।
उनले कांग्रेस, एमाले र माओवादीलाई नेपालको नेतृत्व गर्ने तीन लठैत पार्टीको संज्ञा दिए । उनले थपे–‘‘तीन वटा लठैतहरु–कांग्रेसको नेतृत्व, माओवादीको नेतृत्व, एमालेको नेतृत्व, यी बराबरी एउटै हुन्। एउटै ड्याङका मुला हुन्। यी देशमारा हुन्। यी भ्रष्टाचारी हुन्। अहिले यिनका स्वास्नी थुनिन लागे। यीनका पीए थुनिन् लागे भनेर आफंै जेल जान लाग्नुभयो भनेर यहाँ अहिले नाटक हुँदैछ ।’
अहिलेका कर्मचारी र नेताहरुले देश मारेको उनको आरोप छ । उनले नेपालमा विदेशी सेना आयो भने नेपालका भूतपूर्व जर्नेलहरुको कारणले आउने दाबी गरे। उनले भने,‘भ्रष्टाचार प्रकरणमा सबैभन्दा पहिला शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाललाई थुन्नुपर्छ। अनि मात्रै कारबाही हुन्छ। होइन भने यो नाटक हो। सबैभन्दा पहिला यो भुटानी शरणार्थीको चालाखाला मिलाउने सम्माननीय विद्धान डाक्टर साब केपी शर्मा ओली हुनुहुँदो रहेछ। उहाँको प्रधानमन्त्री कार्यालयमा बादल हो की चट्याङ् होकी पानीको नेतृत्वमा अहिलेका अख्तियार प्रमुखलाई सबै दिएका रहेछन्। उहाँको योजनामा बनेको रहेछ त।’
कार्यक्रममा डा. द्वारिकानाथ ढुंगेलले संक्रमणकालिन न्यायलाई पीडक र पीडित दुवै पक्षसँग बसेर कसरी समाधान गर्न सकिने विषयमा छलफल हुनुपर्ने बताए। वर्तमान गृहमन्त्रीले यसलाई नअलमल्याईकन चाँडो टुङ्गयाउनुपर्ने बताए ।
नागरिकता विधेयकमा सबैले बुलन्द आवाज उठाए अरु केही गर्नु नपर्ने उनको दाबी रहेको छ। वर्तमान राष्ट्रपति पहिला सभामुख रहँदाको घट्ना स्मरण गराउँदै उनले भने,‘एउटा विषयमा निर्णय गर्नुपर्ने भयो र त्यो विषय गिरीजाप्रसाद कोइरालाले भारतमा जाँदा उहाँले हस्ताक्षर गरेको टनकपुर सन्धी, त्यो सन्धी उहाँले समझदारी गर्नुभएको थियो। यसलाई संसद्बाट पारित गराउनुपर्ने जिम्मेवारी सरकारको आयो। र त्यो जिम्मेवारी कोइरालाको सरकारले सन्धीलाई अनुमोदन गराउनको लागि प्रतिनिधिसभामा पेश गरेको थियो। प्रतिनिधिसभा खारेज भयो। त्यसपछि नयाँ प्रतिनिधिसभा आएपछि त्यो मुद्दा फेरि उठ्यो। त्यो मुद्धामा रामचन्द्र पौडेलजीले नै रुलिङ् दिनुभएको थियो। एउटा प्रतिनिधिसभामा प्रस्तुत भएको विधेयक÷प्रस्ताव त्यो प्रतिनिधिसभाको अवधि सकिएपछि नयाँ प्रतिनिधिसभाले त्यसलाई अनुमोदन गर्न सक्दैन। यो संसदीय परम्परा हो। त्यसकारणले त्यस बखतमा प्रस्तुत भएको त्यो प्रस्ताव अनुमोदन हुन सक्दैन भन्ने उहाँले रुलिङ् दिनुभएको छ।’
अहिले नागरिकताको बारेमा धेरै ठूलो कुरा नभएको र उनकै पुरानो रुलिङ् राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गर्दा हुने उनको भनाई छ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे अहिले देखिएको खेलले फासफुस गर्ने सम्भावना रहेको उनले खतरा औंल्याए ।
अन्तर्राष्ट्रिय संस्थाले प्रकाशित गरेको भ्रष्टाचारको तथ्याङ् प्रस्तुत गर्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको इज्जतमा नराम्रोसँग धब्बा लगाएको छ।’ उनले अहिले पक्राउ परेका उच्च ओहोदाका व्यक्तिहरु पक्राउ पर्नुमा नेपाललाई झनै अप्ठ्यारो परेको उल्लेख गरे। सबै नेपालीहरु एक भई यस्ता प्रकरणमा खबरदारी र जाग्नुपर्ने बेला आएको पनि उनले टिप्पणी गरे । सो प्रकरणमा मुछिएका अन्य उच्चपदस्थ व्यक्तिहरुलाईपनि सुरक्षाकर्मीहरुले समात्नुपर्ने उनको भनाई छ । उनले नेपाली सेनालेपनि यो प्रकरणमा खबरदारी गर्नुपर्ने बताए।