बिनिताको ‘आट’ : अमेरिकामा खोलिन तेक्वान्दो स्कूल

ह्यारिसबर्ग,अमेरिका / ‘म त मात्र ६ वर्षको थिए, बुबाको हात समाउदै झापा स्थित शरणार्थी क्याम्प नजिकैको जंगलमा पुगेर तेक्वान्दो सिकेकी हुँ।’
अघिल्लो वर्ष अप्रिल १९ तारिक दिउँसो पेन्सिलभेनियाको राजधानी ह्यारिसबर्गको डेरी स्ट्रीटमा रहेको ग्लोबल तेक्वान्दो एकेडेमीमा समाज टाइम्स सँगको पहिलो भेटमा बिनिता पुरी राईले आफ्नो कथाको शुरुवात गरेकी थिइन्।
जुन दिन आफ्नो नियमित प्रशिक्षण सकाएर खेलाडी सँगै उनले आफ्नो ३२ औं जन्मदिन पनि तेक्वान्दो स्कूलमै मनाएकी थिइन्।
यस पटक अप्रिल ३० तारिक आइतवार, ग्लोबल तेक्वान्दोबाट पाँच मिनेटको दुरिमा आफ्ना बुबालाई हात समाउदै मञ्चतिर लम्किरहेको भेटिइन्। जहाँ उनी आफैले स्थापना गरेको युनाइटेड एभरेष्ट तेक्वान्दो एकेडेमीको उद्घाटन समारोह चलिरहेको थियो।
लगभग दुई घण्टा चलेको थियो उद्घाटन कार्यक्रम। कार्यक्रम शुरु भएको लगभग १५ मिनेट पछि, उद्घोषिका आफ्नी भाउजु नाजुमा जोशीलाई एक छिन रोकेर बिनिताले दर्शक दिर्घामा रहेका बुबालाई डोहोर्याएर मञ्चमा पुर्याएकी थिइन्।

‘तपाईले हिजो रोपिदिएको विरुवाले कसरी फल दिन थालेको छ, ल हेर्नुस त बुबा’ सायद बिनिताको मनले संकेत त्यही गरेको हुनु पर्छ। बाबु छोरी दुबै जना हर्षित देखिन्थे।

मञ्चमा यस अगाडिनै स्वतारा टाउनशिपका आयुक्त शैला एलिस, दाउफिन स्कूलका निर्देशक बेथ स्विबेन,स्वातारा टाउनशिपका पूर्व आयुक्त टम कोनोली, एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो मास्टर कुमार कार्की, डा. खेम अधिकारी लगायत थिए।

अथितिको शुभकामना मन्तव्य, खेलाडीहरुको विभिन्न प्रदर्शनीले उद्घाटन समारोह रमणिय बन्दै थियो। तेक्वान्दो खेलाडीको नृत्यले पनि कार्यक्रममा रौनक भरेको थियो। बिनिता स्वमयले बाल्टिमोरबाट आएकी तेक्वान्दो खेलाडी कृष्णा कार्की सँग संयुक्त नृत्य प्रस्तु गरिन्। तेक्वान्दो खेलाडी,प्रशिक्षक,रेफ्री उनले आफुलाई नृत्यमा पनि प्रमाणित गरिन्।
उद्घाटन कार्यक्रमको मुख्य मुख्य झलक भिडियोमा
उनका बुबा देबराज पुरी झापा स्थित शरणार्थी शिविरमा कहलिएका शिक्षक थिए। देबराजले नै छोरीलाई सानै उमेरमा तेक्वान्दो प्रशिक्षणका लागि गुरुकहाँ पुर्याएका थिए।
त्यही फुच्ची नानी अहिले तेक्वान्दो स्कूलको मालिक बनेकी छिन् त्यो पनि अमेरिकामा । यो एक वर्षकै बीचमा यत्रो आँट कसरी आयो ? समाज टाइम्सको प्रश्न झर्न नपाउदै बिनिताले एक स्वरमा भनिन्। ‘केही गरेर देखाउने हुटहुटी’।
‘कहिले काँही लाग्थ्यो आफ्नै स्कूल भइदिए।’ उनले मनको कुरा खोलिन्, ‘आफ्नो नलेज बाढ्नको लागि आफ्नो स्कूल नभएको कारण कतिपय कुरा दिन सकिरहेको थिइन।’
अरुकोमा काम गर्दा कतिपय अवस्थामा आफुले भने जस्तो गर्न पनि नपाउने। तर दुई सन्तानकी आमा, बुहारी र श्रीमतीको जिम्मेवारी पनि सँग सँगै लैजानु पर्ने। त्यही समय उनका श्रीमान् प्रकास राईले कुरा बुझे। हरियो बत्ति बलेको संकेत दिए। बिनिताका दाजु अर्पण पुरी जो आफै तेक्वान्दो प्रशिक्षक पनि हुन् उनले पनि बहिनीको योजनालाई हौसला भरे। मेरील्याण्डको बाल्टिमोरमा एभरेष्ट वल्डक्लास तेक्वान्दो स्कूल संचालन गर्दै आएका मास्टर कुमार कार्की पनि बिनिताको योजनामा सहयोगि बने।
त्यस पछि झण्डै ४० हजार अमेरिकी डलरको लगानीमा (995 Eisenhower Blvd Harrisbug PA 17111) खुल्यो युनाइटेड एभरेष्ट तेक्वान्दो। स्कूलको औपचारिक उद्घाटन हुनु अगाडि नै उनको स्कूलमा ४२ जना भर्ना भएका छन्।
एउटा कक्षामा ३० जनाको क्षमता छ। दैनीक तीन कक्षा संचालन हुदै आएको छ। चार देखि ६, सात देखि १२ र १३ वर्षमाथि गरि तीन समुहमा प्रशिक्षण हुदै आएको छ। यस्तै ‘फ्यामेली क्लास’ राखिएको छ। विद्यार्थीका अभिभावकका लागि यो कक्षा राखिएको हो।
उद्घाटन समारोहमा अभिभावकको तर्फबाट बोल्दै सबिना जाहिरोभिकले भनेकी थिइन, ‘म तीन बच्चाकी आमा हुँ मेरा सबै बच्चा र म यही तेक्वान्दो सिक्दै छौ उमेरले फरक पार्दैन तपाइहरु पनि आउनु होला।’
ह्यारिसबर्गमा नै नेपालीभाषीले संचालन गरेको यो तेस्रो तेक्वान्दो स्कूल हो। प्रशिक्षक प्रकास ढुङ्गनाले ग्लोवल तेक्वान्दो र प्रशक्षिक नकुल शर्माले हिमालयन तेक्वान्दो संचालन गर्दै आएका छन्। यी दुबै स्कूलमा बिनिताले प्रशिक्षकको जिम्मेवारी पुरा गरेकी थिइन्।
‘जति धेरै स्कूल हुन्छ त्यसले तेक्वान्दोलाई नै फाइदा गर्छ।’ समाज टाइम्स सँग प्रशिक्षक ढुङ्गनाले भने। ‘यसले त राम्रै गर्छ जति सक्दो नानीहरुलाई घरबाट बाहिर ल्याउछ, तेक्वान्दो बढ्दा अनुशासन बढ्छ, हामीलाई पनि आफ्नो क्षमता देखाउने अवसर मिल्छ।’
प्रशिक्षक ढुङ्गनाले बिनिताको आटको सम्मान गर्नु पर्ने बताए। ‘म उहाँको आटको सम्मान गर्छु, उहाँलाई पनि जागर चल्यो, म गर्छु भन्ने आट आयो, परिवारको पनि साथ पाउनु भयो, म पनि गर्छु भन्नु भयो, ओके छ त मैले के सहयोग गर्नु पर्छ भने, साथ दिए।’ उनले भने।
‘एउटा महिला, हाम्रो नेपाली समाजमा त्यसरी निस्किएको त कोही थिएन। उहाँ त एउटा उदाहरण नै हुनु भएको छ।’ ढुङ्गनाले भने, ‘म जहिले पनि उहाँलाई प्रोत्साहन गर्छु। मेरो भनाई के भने जति स्कूल खोले पनि चल्छ। जसरी किनरा पसल चलेका छन त्यसरी तेक्वान्दो स्कूल पनि चल्छ। मान्छेलाई पनि छनौटको अवसर हुने भयो। मान्छेको चेतना बढ्छ। जतिबढ्यो त्यति राम्रो।’
बिनिताले बालकालिकाहरुलाई सदैव प्रोत्साहन गर्ने गरेको अनुव पनि ढुङ्गना सँग छ। ‘उहाँले जति पनि बच्चालाई के भन्नु हुन्थो भने मैले तीन चार वर्ष देखि गर्दा हुन्थो भने तिमिहरुले पनि गर्न सक्छौ मैले त्यस्तो दुखका बेलमा गर्दा पनि सके भने यहाँ त सजिलो छ गर्न सक्छौ भनेर उहाँ बच्चाहरुलाई हौसला दिनु हुन्थो।’
‘उहाँ शुरो खालको, गर्छु भने पछि गर्ने मान्छे, मैले पनि हो तपाई गर्न सक्नु हुन्छ, गर्नुस भनेको हो।’ काम गर्न मान्छेलाई हौसला दिनु पर्ने प्रशिक्षक ढुङ्गनाको भनाई छ।
र यो पनि …
अमेरिकामा तेक्वान्दोको अर्को “इनिङ्ग”शुरु गर्दै बिनिता