अमेरिकामा अठ्ठाइस बर्ष देखि तेक्वान्दो सिकाउने एक नेपालीको कथा (भिडियो)
ओरिगन, अमेरिका / युएस वल्डक्लास तेक्वान्दो हलिउडले आफ्नो स्थापनाको २८ औं वार्षिक उत्सब मार्च महिनामा भव्यताका साथ मनाएको छ।
युएस वल्डक्लास तेक्वान्दो हलिउड अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा नेपालीले संचालन गरेको तेक्वान्दो स्कूल हो।
यसका संचालक तथा मुख्य प्रशिक्षक ग्राण्ड मास्डर दिवाकर महर्जन ‘डान’ हुन्। उनी अमेरिकामा तेक्वान्दो स्कूल संचालन गर्ने पहिलो नेपाली हुन्। ग्रान्ड मास्टर दिवाकरका अनुसार उनको स्कूलमा दुई सय परिवारमा संलग्न छन्।
तीन वर्ष भन्दा माथिका करिव तीन सय जनाले नियमित तेक्वान्दो प्रशिक्षण लिदै आएका छन्। केही मेडिकल चिकित्सक समेत प्रशिक्षणमा रहदै आएका छन्। ग्रान्ड मास्टर दिवाकर नेपालमा राष्ट्रिय खेलकुद परिषदका पूर्व प्रशिक्षक हुन्। उनले नेपालमा रहदा निजि रुपमा मैत्रीपूर्ण तेक्वान्दो डोजाङ्ग चलाएका थिए।
सन् १९९४ मा अमेरिका आएका ग्रान्ड मास्टर दिवाकरले एक बर्ष पछि सन् १९९५ मार्च १ तारिकमा पोर्टल्याण्डमा आफैले स्कूल संचालन गरेका हुन्। तीस हजार डलर लगानीमा एक जना स्थानीयसँगको साझेदारीमा सानो कोठाबाट शुरु गरेको स्कूल अहिले अमेरिकाको सुदुरपश्चिम राज्य ओरिगन स्थित पोर्टल्याण्डकै उत्कृष्ठ मध्येमा पर्दछ । आफ्नै भब्य भवनमा रहेको स्कूलमा साना ठूला गरि तीन वटा हल छन् । ठूलो हलमा प्रतियोगिता नै आयोजना गर्न मिल्छ ।
अहिले सम्म तीन हजार भन्दा बढीले यस स्कूलबाट तेक्वान्दो सिकेका छन् । ‘बर्षमा सालाखाला एक सय १५ विद्यार्थी नियमित छन् । यो बीचमा हरेक बर्ष कम्तिमा ८० देखि एक सय ६५ जना सम्म भर्ना भएको रेकर्ड छ ।’ ग्रान्ड मास्टर दिवाकर भन्छन् । हलिउड तेक्वान्दो स्कूलका खेलाडीले नेश्नल च्याम्पियन र जुनियर ओलम्पिकमा दर्जनौ स्वर्ण पदक जितेका छन् । ६ जना प्रशिक्षकलाई रोजगारि दिएका छन् ।
जसमा चारजना फूलटाइमर हुन् । स्कूलका नियमित विद्यार्थी मध्ये ८० प्रतिशत मेडिकल क्षेत्रमा काम गर्नेका बालबालिका छन् । एक पटक भर्ना भएपछि कम्तिमा एक बर्ष देखि पाँच बर्ष सम्म नियमित प्रशिक्षणमा आउने गरेका छन् । उनको स्कूलबाट तेक्वान्दो सिकेका मध्ये दुई जनाले छैटौ र १२ जनाले पाँचौ डान पाएका छन् ।