अमेरिकाको टेक्सासमा नेपाली शैलीको भब्य मन्दिर निर्माण
काठमाडौं । अमेरिकामा रहेका प्रवासी नेपालीले टेक्सासको युलेसमा भब्य मन्दिर बनाएका छन् । मन्दिर निर्माणको पहिलो चरण सकिए लगतै पुजापाठको सम्पुर्ण काम युलेसबाट सुरु भएको छ ।
प्रवासी नेपालीले युलेसमा पुशपतिनाथ मन्दिर र बौद्ध स्तुपा आकृतिमा भब्य भवन बनाएका छन् । नयाँ भवनमा प्रयाप्त कोठा छन् । कार्यक्रम गर्न ठुला हल छन् । ठूलो र अत्याधुनिक भान्छा, अफिस कोठा, स्वास्थ क्लिनिक सञ्चालनका लागि अलग्गै संरचना छन् । मूर्तिमा प्राण प्रतिष्ठा गर्न भने बाँकी छ । शनिवारबाट खुलेको नियमित पूजामा सयौं नेपाली सहभागी भएका छन् । मन्दिर बनेपछि उनीहरुले आपसमा वधाई साटासाट गरेका छन् ।
मन्दिर बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष मनोज सिग्देलले मन्दिर निर्माणका पहिलो चरणको काम सकिँदा ठुला भारी बिसाए झै भएको बताए । उनले भने,‘ठूलो भारी बोकिएको थियो । गन्तव्यको एउटा बिसौनीमा आइपुगेका छौं ।’
पहिलो चरणको निर्माण कार्य पुरा भएर मन्दिर सरेपनि योजना अनुसारको मन्दिर पुरा हुन भने अझै दोस्रो र तेस्रो चरणको निर्माण पुरा हुनुपर्छ । यसअघि मन्दिर टेक्सासकै अर्भिगमा सञ्चालन हुँदै आएको थियो । एक दशक अघि प्रवासी नेपालीको सकृयता उक्त मन्दिर स्थापना भएको थियो । मन्दिर सरे लगतै अर्भिगको जग्गामा भने बिक्रि भईसकेको छ ।
योजना अनुसार दोस्रो चरणमा काठमाडौंस्थित पशुपनिनाथ मन्दिरकै शैलीमा पशुपतिनाथ मन्दिर बन्नेछ । त्यस्तै, सोही ठाउँमा गुम्बज शैलीको अलग्गै बौद्ध स्तुपा बन्नेछ । स्तुपाभित्र ध्यान तथा शिवीर सञ्चालन गर्न सकिने पदाधिकारीको भनाई छ । यसका लागि उनीहरुले नेपालबाटै पुरातत्वविद् तथा आर्किटेक्ट इन्जिनियर अमृत शाक्यलाई ड्यालस झिकाएर गहन छलफल गरेका थिए । मन्दिर पशुपतिनाथकै शैली बन्ने र पुजा पनि पशुपतिकै मुल भट्टलाई लगेर उद्घाटन गर्ने योजनामा ट्रष्टीका पदाधिकारी छन् ।
तेस्रो चरणमा विश्रामस्थल, पार्क लगायतका निर्माणकार्य हुनेछन् । तेस्रो चरणको पुरा भइसक्दा शनिबारदेखि सञ्चालनमा आएको मन्दिरको भवन भने पुरै सामुदायिक कृयाकलाप गर्न मिल्नेगरि परिवर्तन हुनेछ । अमेरिकामा हाल करिब ५ लाख नेपाली छन् । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स र आसपास मात्रै झण्डै १ लाख नेपाली रहेको अनुमान छ ।