मधेस प्रदेशमा सरकारबाट बाहिरियो एमाले : चार मन्त्री र एक राज्य मन्त्रीद्वारा राजीनामा
जनकपुरधाम । मधेस प्रदेशमा एमालेका सबै मन्त्रीहरुले राजीनामा दिएका छन् ।
गत मंसीरमा भएको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेका चार मन्त्री र एक राज्य मन्त्रीले आज मंगलबार संयुक्त राजीनामा दिएका हुन् ।
एमालेबाट मन्त्री बनेका, भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलमले मुख्य मन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् ।
त्यस्तै गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले पनि राजिनामा दिएका छन् ।
यसैबीच सरोज कुमार यादवले अब उपनिर्वाचन पछि मात्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । उनले भने ‘अब सम्भवतः उपनिर्वाचन पछि मात्रै पुनः मन्त्रीमण्डल गठन हुन्छ । ’
उनले रिक्त रहेका मन्त्रालयहरुको कार्यभार अर्को मन्त्रीमण्डल गठन नहुनजेल आफै सम्हाल्ने जानकारी दिए ।
मधेसमा एमालेका २३ सांसद छन् ।

















