गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण प्रक्रिया अब अघि बढ्ने सवै जिम्मा सरकारको
काठमाडौं । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण प्रक्रिया अब अघि बढ्ने भएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशाला ऋण लागेको भन्दै हात झिकेपछि अलपत्र परेको थियो ।
फाउन्डेशनले रंगशाला निर्माणका लागि उधारोमा सामग्री झारेको करिब १७ करोड पुगेपछि हात झिकेको जनाएको थियो ।
हालै नेपालले आईसीसी विश्वकप लिग टूमा तेस्रो स्थानमा रहँदै ग्लोबल छनोटमा पुगेपछि क्रिकेटका भौतिक संरचना निर्माणका लागि सरकारलाई पनि दबाब परेको थियो ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले अहिले तेस्रो कार्यर्कालमा खेलकुदलाई बढी महत्व दिएको पनि बताउँदै आएका छन् ।
फलस्वरुप नेपालले क्रिकेटमा सफलता हात पारेको कुरा र खेलाडीलाई पुरस्कार प्रदान गर्नेलाई आफ्नो १०० दिनको उपलव्धिमा सार्वजनिक गरेका प्रचण्डले मन्त्रिपरिषद्बाटै निर्णय गराएर गौतम बुद्ध रंगशालाको स्वामित्व पनि सरकारको मातहतमा ल्याएका छन् ।
मन्त्रिपरिषदको निर्णय अनुसार अहिले हिसाव फरफारक गर्नका लागि सरकारले १२ करोड रुपैयाँ दिने भएको छ ।
हिसाव भने भरतपुर महानगरपालिकाले फरफारक गरेर निर्माण कार्य अघि बढ्ने छ । सरकारको युवा तथा खेलकुदमन्त्रालयले निर्माण सम्पन्न गरेपछि उक्त रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ ।