ए डिभिजन लिगमा संकटा र एपीएफ विजयी
ललितपुर ।राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि छैटौं चरणको खेल सुरु भएको छ । आजका खेलमा संकटा र एपीएफ क्लब विजयी भएका छन् । एन्फा मैदान सातदोवाटोमा संकटा क्लबले खुमलटार एफसीलाई १–० गोल अन्तरले पराजित गरेको छ । संकटाको जितमा जुनियर ओनगुइनाले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।
सुरुदेखि नै खुमलटारले संकटामाथि दबाब भने बढाएको थियो । चौथो मिनेटमा स्टेफन वियोंगको प्रहार संकटाका गोलरक्षक विष्णुकुमार केसीले बचाएका थिए । १४ औं मिनेटमा मोसुकेले गरेको प्रहार पनि पोष्टभन्दा बाहिर जाँदा खुमटार अभागी सावित भयो । १७ औं मिनेटमा राजिव लोप्चनले गरेको प्रहार संकटाको बारमा लागेर बाहिर गयो । खुमलटारका गोलरक्षक देव लिम्बु नायक सावित हुँदा संकटाका जुनियरले गरेको प्रहार जोगिए पछि अग्रता बनाउन असफल भएको थियो ।
तर, २७ औं मिनेटमा जुनियरले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए । अग्रता जोगाउन भने संकटलाइै निकै मेहनत गर्नु परेको थियो ।
३१ औं मिनेटमा स्टेफन वियोंगले गरेको प्रहार संकटाका गोलरक्षकले विफल बनाउँदा बराबरी गर्ने अवसर गुमायो ।
७२ औं मिनेटमा संकटाका लागि जुनियरले गरेको प्रहार फ्रेममा रहेन भने त्यसअघि खुमलटारका स्टेफन वियोंगले गरेको हेडर प्रयास पनि विफल भएको थियो । अतिरिक्त समयमा संकटाका नेल्सन युनिओले कर्नर प्रहार खुमलटारका गोलरक्षक देवले जोगाएका थिए ।
जितसँगै संकटाले तालिकामा ३ अंक थपेको छ । संकटाले ६ खेलबाट ९ अंक बनाउँदै आफूलाई छैटौं स्थानमा उकालेको छ भने खुमलटार ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ।
यस्तै, विभागीय डर्वीमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । लिगमा एपीएफको तेस्रो जित रहेको छ ।च्यासल मैदानमा एपीएफले खेल जित्दा एडमा डोम्बिया र सबिन गुरुङले एक एक गोल गरेका छन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एपीएफले दुवै गोल दोस्रो हाफमा निकालेको हो । ५७ औं मिनेटमा डोम्बियाले गोल गरेपछि एपीएफले अग्रता लिन सफल भयो । दोस्रो हाफको अतिरिक्त समयमा सबिनले गोल गर्दा एपीएफ २–० को सहज जित निकाल्न सफल भयो । खेलको नतिजापछि एपीएफले तालिकामा १० अंक बनाएर पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले अहिलेसम्म जितको स्वाद चाखेको छैन । ६ खेल खेल्दा पुलिस ५ मा हार र एक खेलमा बराबरी गर्दै एक अंकमात्रै लिएको छ ।















