अब सरकारले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, मन्त्रिपरिषद् बिस्तारसँगै अब सरकारले गति लिने विश्वास व्यक्त गरेका छन् ।
मन्त्रिपरिषद् विस्तार गरे लगत्तै, शुक्रवार रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले, उनले मूलभूत रूपमा सरकारले पूर्णता पाएको भन्दै अब यसले गति लिनुपर्छ भन्ने आफ्नो प्रतिबद्धता र सङ्कल्प रहेको बताए ।
तेस्रो पटकको कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर नेपाल र नेपाली जनताको अगाडि उभिएको भन्दै उनले कार्यकालको सय दिन नपुग्दै पहिलो बैठकमा गरेको प्रतिबद्धता पूरा भएको दाबी समेत गरे ।
उनले भने, ‘देश आर्थिक, राजनीतिक र सुशासन कुरा पनि छ, मेरो सय दिन नपुग्दैको मेरो अनुभव भनेको मैले पहिलो क्याबिनेटको यो बैठक बस्दै गर्दा अर्थतन्त्रमा सुधार, निजी क्षेत्रको प्रभावकारी सहकार्य, सुशासन कायमको लागि लाइन बस्ने घटाउने कुरा गरेको थिए र काम गरेको र सुधार भएको अनुभव छ ।’
उनले पछिल्लो तीन महिनामा अर्थतन्त्र, राजस्व सङ्कलनमा र बिदेसी मुद्रा संचितिमा धेरै सुधार भएको पनि जिकिर गरे ।
उनले भने, ‘अर्थतन्त्रको कुरा गर्ने हो भने गएको तीन महिनामा रेमिटेन्सको कुरामा धेरै सुधार भएको छ । राजस्व सङ्कलनमा सुधार भएको छ, बिदेसी मुद्रा संचितिमा धेरै सुधार भएको छ । मैले प्रधानमन्त्रीको हैसियतमा अर्थ मन्त्रालय, राष्ट्र बैङ्क र प्रधानमन्त्री कार्यालयको बैठक बसेर समस्या समाधान गर्ने छौ । नेपालमा श्रीलङ्का आतङ्क थियो अहिले छैन ।’
उनले रिपोर्टर्स क्लब नेपालले २५ वर्ष पूरा गरेकोमा बधाई समेत दिए ।