नयाँ मन्त्रीहरुले आज दिउँसो सपथ लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार आजलाई सरेको हो ।
आज दिउँसो ३ बजेलाई सपथ गराउने समय तय भएको बताइएको छ ।
गठबन्धन बैठकमा मिल्न बाँकी मन्त्रालयहरू आफैं मिलाउने भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए । सत्ता साझेदार दलहरूसँग सामूहिक र एक्लाएक्लै संवाद गरे पनि दलहरूले केही मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ ।
सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले आज प्रधानमन्त्री प्रचण्डलाई आ–आफ्ना दलबाट सरकारमा सहभागी हुनेहरुको नाम दिने र नाम प्राप्त भएलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने छन् । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण आज दिउँसो ३ बजे शीतल निवासमा गर्ने तयारी छ । मन्त्रीहरुलाई राष्ट्रपति र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराउने संवैधानिक व्यवस्था रहेको छ ।