उपत्यकामा खुला ठाउँको अभाव : ‘मर्निङ वाक’मा स्थानीयलाई सास्ति
सबिता नयाजू
काठमाडौं । बुद्धनगर बस्ने ६१ बर्षीय जयओम मानन्धर व्यायम गर्न प्रत्येक बिहान ललितपुरको चाकूपाटस्थित यूएन पार्क पुग्छन् । पार्कमा तीन घण्टा बिताउँछन् । र, घर फर्कन्छन् । त्यसबेलासम्म उनको चार घण्टा बितिसक्छ । घर नजिकै खुला ठाउँ भए उनलाई पार्क धाउन पर्ने थिएन । र, समय पनि बचत हुने थियो ।
विहानको व्यायमलाई जीवनसँगै जोडेका उनी भन्छन्,‘व्यायम स्वास्थका लागि अपरिहार्य छ । व्यायमसँगै मेरो दैनिकि सुरु हुन्छ । तर, घर नजिकै खुला ठाउँ छैन । यून पार्क जान्छु । तीन घण्टा पार्कमा बिताएर घर फर्कँदा चार घण्टा बित्छ । घर नजिकै खुला ठाउँ भए त्यहीँ जान्थे । समयको पनि बचत हुने थियो ।’
१२ बैशाख ०७२ मा भूकम्प गयो । खुला ठाउँको आवश्यकता महसुस भए । सडकदेखि सदनसम्म बहस पनि चले । तर, भूकम्पको धक्कासँगै बहस बिस्तारै सेलाउँदै गए । जसले ‘मर्निङ वाक’मा अभ्यस्त काठमाडौंका स्थानीयलाई ठुलो धक्का दियो ।
व्यायममा व्यस्त मानन्धरले भने,‘०७२ मा महाभूकम्प गयो । त्यसले हामीलाई खुल्ला ठाउँको आवश्यकता महसुस गराएर गयो । त्यसबेला खुला ठाउँका सम्वन्धमा बिभिन्न कोणबाट बहस उठे । तर, समय क्रमसँगै ती सेलाएर गए । सरोकारवाला निकायले पनि यसलाई वास्ता गरेन । जसले हामी जस्ता ‘मर्निङ वाक’मा निस्कनेलाई घाटा बनायो ।’
मिनभवन बस्ने ४५ बर्षीय समिरराज सत्याल स्वास्थलाई लिएर सचेत छन् । तर, समय र स्थानको अभावले विहानको योग, व्यायम जस्ता कार्यमा ध्यान दिन सकेका छैनन् । उनी दैनिक व्यायम गर्न युनियन पार्क पुग्छन् । निवासबाट पार्क पुग्न उनलाई आधा घण्टा लाग्छ । तैपनि, उनी आफुलाई भाग्यमानी ठान्छन् । किनकी पछिल्ला दिन पार्क र खुला ठाँउ भेटाउन सबैका लागि मुस्किल भइसकेको छ ।
उनी भन्छन्,‘आठ–दश वर्षदेखि योग, ध्यान, व्यायम गर्ने चेतना नागरिकमा आएको देखिन्छ । यसका लागि खुला ठाउँ आवश्यकता हुन्छ । तर, हामी कहाँ खुला ठाउँ छैन । भूकम्पपछि त यस्ता ठाउँको आवश्यकता झन बढेर गाएको छ । हामी कहाँ यस्ता ठाउँ निक्कै कम छन् । जताततै घर मात्रै देखिन्छ । खुला ठाउँको अभावले काठमाडौं ‘कङ्क्रिट’को जंगल जस्तो भएको छ ।’
अध्यात्मिक चेतसँगै पछिल्ला दिन मानिसमा ध्यान र योगप्रति आकर्षण छ । उनीहरु मस्तिष्कसँगै मनलाई पनि शुद्धिकरण गर्न चाहन्छन् । तर, ध्यान र योग गर्न खुला ठाउँ छैन । जसको प्रत्यक्ष असर स्थानीयलाई परेको छ ।
सत्याल भन्छन्,‘विहानको सुरुवातमा ध्यान, योग, व्यायमले मानिसको शरिरलाई मात्र होईन सोचलाई पनि शुद्धिकरण गर्न सहयोग गर्छ । उपत्यकाका केही स्थान बाहेक सबै स्थान कङ्क्रिडको जङ्गल बनिसकेका छन् । बिहान एक घण्टा मात्रै स्वच्छ हावा लिन सके मानिस शारिरिक र मानसिक दुवै प्रकारको तनावबाट मुक्त हुने थियो ।’
‘मर्निङ वाक’मा भेटिएका सविन दास करिब एक घण्टा हिँडेर यूनपार्क आइपुग्छन् । व्यायम सकेर घर फर्कन उनलाई पनि तीन घण्टा लाग्छ । घर नजिकै खुला ठाउँ भए उनी त्यहीँ जान्थे । सहज तवरले व्यायम सक्थे । समयमै घर फर्किन पाउँथे ।र,बचेको समय अन्य काममा प्रयोग गर्न पाउँथे ।
उनका अनुसार भाडामा प्रयोग भएका सरकारी जग्गालाई खुला ठाउँका रुपमा प्रयोग गर्न सके मात्रै पनि धेरैले राहतको महसुस गर्न पाउने थिए । उनी भन्छन्,‘उपत्यकामा भएका खाली जग्गाहरु सरकारले आम्दानीको रुपमा प्रयोग गर्दै आएको छ । त्यसो हुँदा पनि खुला क्षेत्रको अभाव भएको हो । जसको प्रत्यक्ष असर नागरिकको स्वास्थमा परेको छ । सरकारले जनताको स्वास्थ्यलाई भन्दा पनि व्यवसायलाई प्राथमिकतामा राखेको जस्तो देखिन्छ ।’
उपत्यका भित्र रहेका सरकारी जग्गा कित त भाडामा प्रयोग भएका छन् । कि भू–माफियाले हडपेर राखेका छन् । कतिपय सार्वजनिक क्षेत्र ‘डम्पिङसाइट’ बनेका छन् । यस्ता ठाउँको मात्रै सदुपयोग हुन सके पनि खुला ठाउँ निर्माण गर्न सकिन्छ । तर, यसतर्फ स्थानीय सरकारको ध्यान गएको देखिँदैन ।
व्यायमलाई केहीबेर राकेर दासले भने,‘उपत्यका भित्र धेरै ठाउँमा सरकारी जग्गा छन् । त्यसलाई भाडामा लगाएर सरकारले आम्दानीको स्रोत बनाएको छ । तर, उसलाई नागरिकको स्वास्थमा कुनै चासो छैन । कतिपय ठाउँका सरकारी जग्गा भू–माफियाले हडपेका छन् । कति ठाउँमा ‘डम्पिङसाइट’ बनेका छन् । यस्ता क्षेत्रलाई समेटेर खुला ठाउँ बनाउन सके नागरिकले प्रत्यक्ष लाभ पाउने थिए ।’
काठमाडौंमा विहानको व्यायम र शान्त वातारवरणको लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै कुनै ठाउँ होलान जहाँ केही समयका लागि मानिसले स्वच्छ हावा लिन सक्छन् ।
बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि व्यायम गर्न यस्ता स्थानको अभाव दिनप्रतिदिन बढ्दै गएको छ । यसले गर्दा उपत्यकाका वातावरणको साथै मानिसको स्वास्थ्यमा पनि धेरै प्रभाव पर्दै आएको छ ।
काठमाडौंका टुँडिखेल, रत्नपार्क, तीनकुनेको मैदान, सिफल चौर, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन जस्ता खुल्ला क्षेत्र व्यवसायिक प्रयोजनले गर्दा मासिदैँ गएको छ ।
एक वडा एक खुला ठाउँ : काठमाडौं महानगरपालिका
उपत्यका भित्र खुला ठाउँ कम छन् । त्यसमा पनि काठमाडौं र ललितपुरस्थित सहरीमा खुला ठाउँ निक्कै कम छन् । काठमाडौंमा महानगरपालिकाले पछिल्ला दिन एक वडा एक खुला ठाउँको नीति अघि ल्याएको छ । यस लागि सरकारी, ऐनाली र प्रति जग्गाको खोजीमा जुटेको महानगरपालिका । सुकेका पोखरी पुनर्निमाण गर्ने, पार्क र चौरलाई विस्तार गर्ने योजनामा महानगरपालिका छ ।
खुला ठाउँ निकाल्न निजी भवनमा पनि महानगरले मापदण्ड निर्धारण गरेको छ । जस्तो नयाँ भवन निर्माण गर्दा तीनदेखि पाँच मिटरसम्म ‘सेट व्याक’लाई अनिवार्य गरिएको छ । भवन निर्माण गर्दा कुल क्षेत्रफलको २० प्रतिशत खुला ठाउँका लागि छुट्टयाउनै पर्ने काठमाडौं महानगरपालिका प्रवक्ता नविन मानन्धरले बताए ।
उनले भने,‘महानगरपालिकाले एक वडा एक पार्कको योजना अघि बढाएको छ । यसका लागि सरकारी, ऐनाली र प्रति जग्गाको खोजी भइरहेको छ । संरक्षण नभएको चौर पहिचानलाई तिब्र तुल्याइएको छ । भएका पार्क, चौर र सुकिसकेको पोखरीको पुनर्निमाण भइरहेका छन् । निजी भवन निर्माण गर्दा पनि खुला ठाउँका लागि निश्चित मापदण्ड तोकिएका छन् । यी अभियानले खुला ठाउँ निर्माणमा सहयोग पुग्नेछ ।
लैनचौरमा पोखरीसहितको पार्क बन्ने
महानगरपालिकाका अनुसार ठमेल, हात्तिसार, सोह्रखुट्टे आसपासका स्थानीयलाई सुविधा पुग्ने उद्येश्यले लैनचौरस्थित खाली जग्गामा व्यवस्थित पार्क निर्माण गरिनेछ । चौरमा आकर्षक फुल तथा विभिन्न प्रजातिका रुख, विरुवा रोपिनेछन् । पार्कको मध्य मागमा फाउण्टेनसहितको पोखरी पनि निर्माण गरिनेछ ।
महानगरपालिकाका प्रवक्ता मानन्धरले सकेर जीर्ण भएको इखा पोखरी पुनर्निणमाण भइरहेको छ । त्यस बाहेक टुडिँखेल, रत्नपार्क रानीपोखरी, धोबीचौर, नाराणचौर, शंकपार्क, बालाजुपार्क, त्रिभुवनपार्क, सानो गौचरण जस्ता खुला ठाउँलाई अझ व्यवस्थित बनाइनेछ । त्यसबाहेक बाग्मती, धोबी खोला, बिष्णूमती जस्ता सभ्यता बोकेको नदीका किनारमा पनि ‘ग्रिन बेल्ट’ निर्माण गरिनेछ । अधिकांश किनारमा पनि बेल्ट निर्माण सम्पन्न पनि भइसकेका छन् ।
उनले भने,‘काठमाडौंमा खुला ठाउँ हुँदै नभएका होइन । ती पर्याप्त नभएको मात्रै हो । यसलाई महानगरपाकिाले बुझेको छ । जस्तो लैनचौरमा पोखरी सहितको पार्क बन्दैछ । भएका पार्कलाई अझ व्यवस्थित बनाइनेछ । नदी किनारमा ‘ग्रिन बेल्ट’ निर्माणलाई अझ तिब्र तुल्याइनेछ । यसले खुला ठाउँ ‘क्रियट’ गर्नेछ ।’
नेपाल न्यूज बैंक