अमेरिकाको रीगल ह्यारिसबर्गमा ‘फूलबारी’ प्रदर्शन, पहिलो दिन ‘हाउस फुल’
ह्यारिसबर्ग,पेन्सिलभेनिया / अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गमा नेपाली कथानक चलचित्र फूलबारी शुक्रवार देखि प्रदर्शनीमा आएको छ।
ह्यारिसबर्ग काघी ड्राइभमा रहेको रीगल (1500 Caughey Dr, Harrisburg) सिनेमा हलमा फूलबारीको प्रदर्शन गरिएको हो।
फूलबारीको ह्यारिसबर्गका लागि आधिकारिक विक्रेता मिन ढकालका अनुसार पहिलो दिनको सोमा दर्शकको उत्साहजनक सहभागिता रहेको छ।
‘शुक्रवार बाट सो शुरु भयो सोमबार सम्मका लागि बुक छ।’ समाज टाइम्स सँगको कुराकानीमा ढकालले भने,’हिजो राम्रो क्राउड थियो,हाम्रै वेव पेजमा गएर बुक गर्नेहरुको संख्या ४८ जना थियो। हलमै गएर पनि धेरैले टिकट किने।’
ढकालले पहिलो सोमा नै दर्शक यसरी आउनु राम्रो भएको प्रतिक्रिया दिए। ‘प्रतिक्रिया राम्रो पाएका छौ, कलाकार पनि राम्रो छन, निर्देशक नाम चलेकै हुन्, त्यसले पनि दर्शक आएका छन्।’ उनले भने।
फूलबारीको निर्देशन रामबाबु गुरुङले गरेका हुन्। उनी कवड्डीका निर्देशक पनि हुन्।
चलचित्र ‘फूलबारी’ मा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकारले अभिनय गरेका छन्।
पारिवारिक चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन् । विपीन अवकाशप्राप्त शिक्षकको भूमिकामा छन् ।
ढकालका अनुसार पहिलो दिन तीन सो भएकोमा शनिवार देखि दैनीक चार सो हुने छ।
ढकालका अनुसार एक जनाका टिकट शुल्क दश अमेरिकी डलर तोकिएको छ। दश बर्ष मुनिका लागि भने नौ डलर रहेको छ।