एनआरएनए महासचिव गौरी जोशीको त्यो स्टाटास जसलाई हटाए ‘रातारात’
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका महासचिव गौरी जोशीले आफ्नो पछिल्लो फेसबुक स्टाटस हटाएका छन्।
अमेरिकाको टेक्सासमा रहेर व्यापार गर्दै आएका जोशीले नेपालका प्रमुख दलका नेतृत्व विनाको नयाँ नेपाल भन्दै आइतवार साँझ स्टाटस लेखेका थिए।
‘देउबा,ओली, माकुने र प्रचन्ड बिना को नेपाल- नयाँ नेपाल’ भन्दै इमोजीमा नेपालको झण्डा राखेर थिए।
उनको स्टाटस सार्वजनिक भए सँगै विभिन्न व्यक्तिले प्रतिक्रिया दिएका थिए। केहीले उनले ठिक लेखेको भन्दै समर्थन गरेका थिए।
जोशी आफैले यस्तो स्टाटस लेखेका हुन् भनेर शंका व्यक्त गर्नेहरु पनि थिए। एनआरएनएको महासचिवको हैसियतमा यस्तै गैरजिम्मेवारी पूर्ण स्टाटस लेखेको भन्दै थुप्रैले आपत्ति समेत प्रकट गरेका थिए।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय किमिटिका अध्यक्ष संजय थापाले एनआरएनए महासिचवकै स्टाटस हो ? भनेर प्रश्न गर्दै जोशीको स्टाटसमा कमेन्ट गरेका थिए।
यस्तै अमेरिकाको भर्जिनयामा रहेका पत्रकार तथा व्यवसायी निदेश अधिकारीले जोशीको फेसकुक एकाउन्ट ह्याक भएको हो कि भनेर शंका व्यक्त गरेका थिए।
महासचिव जोशीका अत्यन्त निकट टेक्सासकै व्यवसायी तथा नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले भने उनलाई सुझाव दिदै कमेन्ट गरेका थिए। भण्डारीले जोशीलाई एनआरएनएकै काममा लाग्न भनेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्वन्धी मुद्दामा सर्वोच्च अदालतको पछिल्लो फैसला पछि प्रवासी नेपाली विषेश गरि नेपालमा रहेको आफ्नो सम्पत्ति के हुने भनेर चिन्तित छन्।
संविधानमा एनआरएनए नागरिकता दिने भनिएको छ। तर अहिले सम्म नागरिकता ऐन आएको छैन। कतिपयले विदेशको नागरिकता लिए पछि पनि खारेज भएको नेपालकै नागरिकता प्रयोग गरि सम्पति जोडेका छन्।
नेपालमा जोडिएको सम्पत्ति संकटमा रहेको बेला एनआरएनए महासिचवको यस्तो स्टाटसले महोल झनै विग्रने भन्दै कतिपयले आक्रोस पोखेका छन्।
नेपालको संविधानले एनआरएनलाई राजनैतिक अधिकार दिएको छैन। एनआरएनएको नेतृत्वमा रहेर नेपालका मुख्यदलका नेतृत्वलाई चिडाउने गरि लेख्नुलाई कतिपयले दुर्भाग्य भनेका छन्।
‘यो स्टाटस गौरीराज जोशी आफैले हाल्नु भयो भन्ने मलाई शंका छ ।’ प्रवासी मञ्चका अध्यक्ष थापाले समाज टाइम्स सँग भने,’ महासचिव जस्तो व्यक्तिले दलका नेतालाई त्यसो भन्नु अस्वाभाविक छ।’
थापाले एनआरएनए नेतृत्वमा रहेको व्यक्तिले नेपालको राजनैतिक दलका नेताहरुको समर्थन वा विरोध आफुहरुका लागि अस्वीकार्य हुने बताए।
यस्तै एनआरएनएकी कार्यकारी अध्यक्ष रबिना थापाले जोशीको स्टाटस बारेमा आफुलाई जानकारी नभएको बताइन। उनले महासचिवले लेखेका सबै कुरा संस्थाका नहुने पनि प्रस्टाइन।
‘म नागरिकताको मुद्दामा लडिरहेको छु, बिहान देखि बैठकमा छु, उहाँले फेसबुकमा के लेख्नु भयो मैले पढेको पनि छैन। त्यस्तो कुरा लेख्नु नपर्ने हो।’ समाज टाइम्स सँग रबिनाले भनिन्,’त्यो उहाँको व्यक्तिगत हो संस्थाको होइन।’
टेक्सासमा व्यवसायमा सफल जोशी एनआरएनएमा भने निकै विवादास्पद व्यक्ति हन्।
उनको एनआरएनएमा इन्ट्री नै निकै विवादका बीच भएको थियो। एनआरएनए अमेरिकाको विवादलाई अदालत सम्म पुर्याएका जोशीले पछि आफुले क्षेत्रिय संयोजक पाउने भए पछि मुद्दा फिर्ता लिएका थिए।
त्यस पछि पनि उनले विवादस्पद हर्कत गर्दै आएका छन्। एनआरएनए अमेरिकाका तत्कालिन अध्यक्ष डाक्टर केशव पौडेल र जोशी बीचमा विवाद निकै चर्किएको थियो।
उनीहरु बीचमा सल्किएको विवाद अन्तत विश्वभरी नै फैलिएको थियो । जसका कारण समयमा नै एनआरएनएको महाधिवेशन हुन सकेको थिए।
पछि भागबण्डामा तीन तीन अध्यक्ष बनाइएको थियो। संयोगबस जोशी र पौडेल दुबै त्यो कमिटिमा महासचिव बनेका थिए।
महासचिव भए पछि पनि जोशी पटक पटक विवादमा पर्दै आएका छन्। पछिल्लो समय कार्यकारी अध्यक्ष रविना थापा सँगको विवाद चरम उत्कर्षमा पुगेको थियो।
अध्यक्षलाई जानाकारी नदिइ बैठक रद्द गरेको बारेमा शुरु भएको विवाद व्यक्तिगत गालिगलौच सम्म पुगेको थियो।
जोशीले रबिना विरुद्द अविस्वासको प्रस्ताव ल्याउन आह्वान पनि गरेका थिए। तर उनको आह्वानलाई अन्यले साथ नदिए पछि प्रस्ताव फिर्ता लिए । यस्तै आफ्नो गल्नि स्वीकार्दै माफि मागेका थिए।