चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

Getting your Trinity Audio player ready...
|
काठमाडौं । निर्वाचन आयोगले, आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।
आयोगले सूचना जारी गर्दै, २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।
नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ।
उपनिर्वाचनका लागि निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरेको आयोगले आगामी चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिकाअनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी छ ।
यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।