विमान दुर्घटनाको शोकमा सरकारले दियो भोलि बिदा, छानबिन गर्न ५ सदस्यीय आयोग गठन
काठमाडौँ । ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ ।
आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।
सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्ती विष्णु पौडेलले जानकारी दिए ।
त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।
विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री पौडेलले जानकारी दिए ।