सर्तसहित सन्दीप लामिछानेलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठसहित]
काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई विभिन्न ५ सर्तसहित रिहा गर्न आदेश दिएको छ । बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो ।
न्यायिक कारबाहीमा प्रतिवादीको उपस्थिति प्रभावकारी बनाउने प्रयोजनका लागि न्याय प्रशासनसम्बन्धी अदालतको अन्तरनिहीन अधिकार प्रयोग गरी सर्त सहितको आदेश जारी गरिएको अदालतले जनाएको छ । यस्तै आदेशमा अभियुक्तलाई स्थानको बन्देजदेखि विद्युतीय माध्यमबाट संकेत र निगरानी गराउन सकिने मान्यता र अभ्यासको परिप्रेक्ष्यमा मुद्दाको संवेदनशीलतालाई दृष्टिगत गर्दै न्यायिक कारबाहीलाई शीघ्र टुंगोमा पुर्याउने पनि उल्लेख छ ।
आदेशमा लामिछानेले काठमाडौं उपत्यका छाड्न समेत प्रहरीको अनुमति लिनुपर्ने उल्लेख छ । ‘कुनै काम विशेषका कारण प्रतिवादीले काठमाडौं उपत्यका छोड्नुपर्दा छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोको लिखित जानकारी दिनुपर्नेछ । सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्फने मिति तथा उपत्यका बाहिर रहने स्थान समेत खुलाउनुपर्नेछ’, अदालतको आदेशमा भनिएको छ ।
यसैगरी लामिछानेलाई मुद्दाको फैसला नहुँदासम्म विदेश जान रोक लगाइएको छ भने विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन तथा सार्वजनिक गर्न पाइनेछैन । यस्तै पीडित पक्षसँग सम्पर्क वा भेटघाटमा रोक लगाइएको छ भने आदेशहरूको प्रभावकारी पालनाका लागि मोबाइलमा पहुँच राखी प्रहरीले उपयक्त व्यवस्था मिलाउन सक्ने उल्लेख छ ।
पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका थिए ।

















