पर्यटन सचिव अधिकारी: नेपालमा एक वर्षभित्र १० लाख पर्यटक भित्र्याउन सकिन्छ
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने दावी गरेका छन् । सरकारले आगामी सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीको भनाई थियो ।
पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा पर्यटकहरुलाई भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि स्पष्ट पारे । सचिव अधिकारीले कोभिडका कारण पर्यटन क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा हुँदै आएको योगदान ह्वात्तै घटेको भएपनि अहिले सन्तोषजनक ढंगले सुधार भइरहेको उल्लेख गरे ।
उनले भने, ‘कोभिडका कारण नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको कन्ट्रिब्यूशन ह्वात्तै घटेको छ । विगत ५÷६ महिनायता भने पर्यटन क्षेत्रमा सुधार आएको छ । यसको अवस्था सन्तोषजनक छ । यसरी नै पर्यटन क्षेत्रको विकास हुँदै जाने हो भने आगामी सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सकिन्छ । त्यसका काममा निजी क्षेत्रले खेल्दै आएको भूमिका महत्वपूर्ण हुन्छ ।’
सचिव अधिकारीले नेपालले भारत, चीन, सिंगापुर, भियतनामलगायतका एशीयाली मुलुकहरुमा पर्यटन प्रवद्र्धनका लागि अभियान संचालन गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए । कार्यक्रममा बोल्दै होटल एशोसिएशन अफ नेपाल (हान) कि अध्यक्ष सृजना राणाले होटल व्यवस्थालाई पनि उद्योग व्यवसाय सरह मान्यता दिन सरकारलाई दवाव दिइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि होटल व्यवसायको प्रवद्र्धनका लागि बनेका नीतिहरुलाई कार्यान्वयनमा ल्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।
होटल एशोसिएशन अफ नेपालले सरकारले कोभिडका कारण धराशायी बन्न गएको होटल व्यवसायलाई अघि बढाउनका लागि आवश्यक आर्थिक राहत उपलब्ध गराउन नसकेको गुनासो गर्दै आएको छ ।















