नेपालबाट पछिल्लो ८ वर्षमा झण्डै ४ हजार विदेशी निष्कासित
काठमाडौं । नेपालमा विभिन्न प्रकारका भिषामा आउने तर अपराधिक क्रियाकलापमा संलग्न भएको पाइएका करिब ४ हजार विदेशीलाई पछिल्लो ८ वर्षमा निष्कासन गरिएको छ ।
पछिल्लो ८ वर्ष र सन् २०२२ को अक्टोबरसम्ममा अध्यागमन विभागले ३ हजार ८ सय २१ विदेशीलाई निष्कासन गरेको तथ्याङ्क छ ।
विभागको तथ्यांकअनुसार सन् २०१४ मा १ सय ९०, सन् २०१५ मा २ सय ७३, सन् २०१६ मा २ सय ६९, सन् २०१७ मा ६ सय ५७, सन् २०१८ मा ७ सय ९३, सन् २०१९ मा ७ सय ६४, सन् २०२० मा ३ सय ३२, सन् २०२१ मा २ सय १८ र सन् २०२२ को सेप्टेम्बर सम्म ३ सय २५ विदेशी नागरिक विभिन्न अपराधमा संलग्न रहेको पुष्टि हुँदा निष्कासनमा परेका छन् ।
अध्यागमन कार्यविधि २०६५ अनुसार अपराधमा संलग्न विदेशीलाई २ वर्षदेखि १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ ।
उनीहरु पर्यटक र अन्य भिसामा आएर विभिन्न समय ओभरस्टे र गैरकानुनी घुसपैठदेखि बालयौन दुराचार, लागूऔषध कारोबारसम्मका अपराधमा पाइएका घटना छन् ।
अध्यागमन विभागका अनुसार विदेशी मुद्राको अवैध कारोबार तथा तस्करी, जाली राहदानी प्रयोग, यौन दुराचार, चोरी, लागूऔषध ओसारपसार तथा कारोबार, बैंकिङ कसुर, मानव तस्करीलगायतका अपराधमा विदेशीको संलग्नता देखिन्छ ।















