एनआरएनए पदाधिकारी छलफल : रविना र गौरी बीच तल्लो स्तरमा ओर्लिएर गालिगलौच
|
Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया, अमेरिका । अन्तत : गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) का कार्यकारी अध्यक्ष रविना थापा र महासचिव गौरी जोशी तल्लो स्तरको गालि गलौचमा उत्रिएका छन्।
शनिवार साँझ एनआरएनए पदाधिकारीको छलफलमा उनीहरु एक अर्कामा ‘त’ सम्म सम्वोधन गर्न पुगेको जनाइएको छ।
बैठकमा सहभागि एक पदाधिकारीले समाज टाइम्सलाई बताए अनुसार नोभेम्बर चार तारिकमा अन्तिम समयमा गौरी जोशीले बैठक स्थगित गरेको विषयमा छलफल हुदा स्थिति तनावपूर्ण बनेको हो।
विश्वभरका ८० देशमा सक्रिय एनआरएनएहरुको संस्थाको अध्यक्ष र महासचिव बीचको सवाल जवाफ ‘घटिया’ स्तरको भएको ती पदाधिकारीले टिप्पणी गरे।
ति पदाधिकारीका अनुसार भनाभन यति सम्म पुग्यो की रविनाले गौरीलाई ‘त मानव तस्कर व्यापारी’ भनिन् । गौरीले पनि ‘त पनि बासीभात बेच्ने’ व्यापारी भन्ने जवाफ फर्काएका थिए।
कार्यकारी अध्यक्ष रविना र महासचिव गौरी बीच विवाद बढ्दै गए पछि उपाध्यक्ष महेश श्रेष्ठको पहलमा पदाधिकारी छलफल आयोजना गरिएको हो। तर घटना क्रम सोचे भन्दा ठ्याक्कै उल्ठो भएको ति पदाधिकारीको भनाई छ।
छलफलमा अन्य दुई अध्यक्ष कुल आचार्य र डा. बद्री केसी अनुपस्थिति रहे। रविना र गौरीका अलवा युवा उपाध्यक्ष रोशन थापा, अर्का महासचिव डा. केशव पौडेल, सचिवहरु राजन त्रिपाठी र गंगाधर गौतम लगायत भने उपस्थित थिए।
रविनाले आफ्नो हैसित बिर्सिएर गौरी बैठक स्थगित गरेको भन्दै आक्रोस पोखेकी थिइन्। त्यसको जवाफमा गौरीले रविनालाई काम गर्ने ढंग नभएको भन्दै जवाफ फर्काएका थिए।
ती पदाधिकारीका अनुसार रविनाले शुरुमा गौरी जोशीलाई तपाईले कार्यकारी अध्यक्षलाई नसोधि किन बैठक रद्द गर्नु भयो, कुन अधिकार प्रयोग गरेर यस्तो गर्नु भयो भनेर प्रश्न सोधेकी थिइन। रविनाले विधान बाहिर गएर बैठक बन्द गर्ने भन्दै प्रश्न गरेकी थिइन्।
त्यसपछि गौरीले कार्यकारी अध्यक्षलाई बैठकको अध्यक्षता गर्ने र महासचिवले तयार गरेको कार्यविधि अनुसार बैठक चालाउनु बाहेक अरु अधिकार नभएको जवाफ फर्काएका थिए।
गौरीको जवाफ पछि रविनाले तपाई कुन दुनियमा हुनु हुन्छ तपाई यो संस्थाको महाचसिव हो कार्यकारी अध्यक्षको कुरा नसुन्ने ? भनेर कड्किएकी थिइन।
त्यसको जवाफमा गौरीले तपाईको कुरा किन सुन्ने के हैसियत तपाईको ? भात पकाएर बेचेको जस्तो हो एनआरएनए चलाउनु भनेर प्रश्न गरेका थिए।
सवाल जवाफ त्यतिमा रोकिएन। रविनाले व्यक्तिगत कम्पनी हो एनआरएएन ? अरुको श्रम बेचेर खाए जस्तो हो भन्दै गौरी माथि प्रश्न सोधिन ।
त्यस पछि रविनाले गौरीलाई ‘त मानव तस्कर व्यापारी’ र गौरीले रविनालाई ‘त बासीभात बेच्ने व्यापारी’ सम्म भन्न पुगेको ति पदाधिकारीको भनाई छ।
रविनाले गिरोहले संस्था चलाउन खोज्ने, महिला भनेर मलाई हेपेको भने पछि सचिव राजन त्रिपाठि दृश्यमा आएको ति पदाधिकारीको भनाई छ।
‘महिला भनेर हेपेको हो ? पहिलो महिला त्यसमा पनि कार्यकारी अध्यक्षलाई हेपेकै हो भने हामी उहाँको पछाडि छौ, राजनले अगाडि थपे, ‘कार्यकारी अध्यक्ष सँग सल्लाह नगरी बैठक रोक्नु गल्ति हो, समाधान त्यहीबाट खोज्नु पर्छ।’
उनले आइसीसी सदस्य नियुक्तिका बारेमा बाहिर आएको हल्लाहरु साचो हो भने प्रमाण ल्याउनु पर्ने नत्र त्यस्ता कुरा उठाउनेलाई कारवाही गर्नु पर्नेमा जोड दिएका थिए। ‘रविनाले पैसा खान खोजेको हो भने प्रमाण ल्याउनुस हामी अविस्वासको प्रस्ताव ल्याउछौ नत्र जसले यो आवाज उठाएको छ उसलाई कारवाही हुनु पर्छ।’
महासचिव डा केशव पौडेलले बैठक स्थगित गर्नु आफुहरुको कमजोरी भएको स्वीकारेको ति पदाधिकारीको भनाई छ।
अर्का सचिव गंगाधर गौतमले पनि अन्तिम समयमा बैठक स्थगित गर्नु गलत भएको बताएका थिए। चार पाँच जनाको गिरोहबाट संस्था चलाउनु गम्भिर भएको र बैठक स्थगत गर्ने निर्देशन दिने अन्य दुई अध्यक्षले पनि माफि माग्नु पर्नेमा उनले जोड दिएका थिए।
यसै बीच समाज टाइम्स सँगको कुराकानीमा गौरी जोशिले मानव तस्कर भनेको चै आफुले नसुनेको तर अरुको श्रमको पैसा खायो भनेको चै सुनेको बताए। ‘अलिअलि भनाभन भएको हो मैले पनि के के भने बिर्सिए, ‘गौरीले थपे,’मैले तपाई पनि चोखो हुनुहुन्न भनेको हो।’
अध्यक्ष रविनाले भने समाज टाइम्स सँगको कुराकानीमा घटनालाई सामान्य रुपमा लिइन्। ‘काम गर्ने बेलामा सानोतिनो भईहाल्छ, त्यस्तो कुरा मिडियामै उतार्नु अरुरत छैन्।’
उनले समस्या समाधानका लागि तीन सदस्यीय कमिटि गठन गरिएको बताइन। ‘उपामहासचिव रामशरण सिंखडा, सचिव द्वय राजन त्रिपाठी र गंगाधर गौतमलाई मैले समस्या समाधानको उपाय सुल्झाउन जिम्मा दिएको छु, रविनाले भनिन्,’बैठक स्थगत गरेको बारेमा अब के गर्ने, समस्याको समाधान उहाँहरुले ल्याउन हुन भनेको छु।’












