मैत्री खेलमा नेपालले पाकिस्तानलाई १-० ले हरायो, अञ्जन बिष्टले गरे गोल
काठमाडौं । पाकिस्तान विरुद्धको मैत्री खेलमा नेपाल एक शुन्यले विजयी भएको छ। दशरथ रंगशालामा बुधवार भएको खेलमा नेपालको जितमा अञ्जन बिष्टको गोल निर्णायक बन्यो।
खेलको ८३औँ मिनेटमा अञ्जनले गोल गरेका थिए । उनले सुनिल बलको पासलाई गाोलमा परिणत गरे।
पाकिस्तान तीन वर्ष पछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो। पहिलो हाफमा दुबै टिमले गोलका अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
खेलको पहिलो मिनेटमा विमल घर्ती मगरले राम्रो अवसरमा ढिला भए।
मिडफिल्डर तेज तामाङले पनि सोही क्षेत्रमा ३७औँ मिनेटमा बल पाएका थिए । तेजले हानेको प्रहार पाकिस्तानका अब्दुल कादिर खानले हेडमार्फत क्लियर गरिदिएका थिए ।
विमलले वान भर्सेस वानमा बलमा कनेक्ट गर्न नसक्दा ५४औँ मिनेटमा नेपालले अग्रता लिने राम्रो अवसर खेर फालेको थियो ।
यस्तै, आजको खेलबाट मिडफिल्डर आभास लामिछानेले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । उनले खेलको ५८औँ मिनेटमा सेसेहाङ आङदाम्बेको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । नेपाल एपीएफ क्लबमा आबद्ध आभास स्पेनबाट फुटबल खेल्न नेपाल आएका हुन् ।
नेपाली पुरुष टिमले दशरथ रङ्गशालामा खेलेको यो ५०औँ खेल हो । र पाकिस्तानविरुद्ध खेलेको यो १७औँ खेल हो ।
पाकिस्तानले फिफा प्रतिबन्धपछि खेलेको यो पहिलो खेल हो ।