सन्दर्भ: यसबर्ष अक्टोबर २७ बिहिबार मनाइन लागेको नेपालीहरुको ठुलो चाड तिहार

Getting your Trinity Audio player ready...
|
लेखनाथ गौतम, टेक्सास
टेक्सास। हामी नेपालीहरु चाडबाडमा निकै धनि छौं। प्राय हरेक महिना केहि न केहि पर्व परेकै हुन्छ। यसवर्ष अक्टोबर महिनाले दशैं र तिहार दुबैलाई स्वागत गरेको छ। अक्टोबर ५ मा दशैं थियो भने तिहार अक्टोबर २७ मा मनाउने तयारी गर्दैछौं। यसको लागि म सबैलाई दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
तिहार लामो समय देखि नेपाली समाजमा लोकप्रिय छ। यो ५ दिन सम्म धुमधामसाथ मनाइन्छ। काग तिहार बाट शुरु भएर कुकुर तिहार, लक्ष्मी पुजा, गोवर्धन पुजा अनि गोरु पुजा र अन्तिम दिन भाइटिका लगाएर यसको समाप्ति हुन्छ।
चरा, जनावर, देवी र पहाडको पुजा गर्दै यो चाड मनाइने हुनाले हाम्रो सनातन धर्म संस्कृति भित्रको प्रकृति प्रेम प्रस्ट झल्किन्छ। यो पृथ्वी यहाँ रहेका सबै प्राणीहरुको साझा घर भएकोले यस माथि सबैको अधिकार छ र चेतनशील प्राणी भएको नाताले मानवले त्यसको सन्तुलन मिलाउनु पर्छ भन्ने संदेश पनि यो चाडमा अन्य प्राणीहरुलाई पुजा गरिने प्रचलनले दिएको छ। सनातन धर्म संस्कृति र परम्पराहरु प्रकृति प्रति सहनशील छन् भन्ने यो दरिलो प्रमाण हो ।
तिहारको चौथो दिन नेपालको नेवारी समुदायमा म्ह पुजा गर्ने परम्परा छ अर्थात् आफ्नो पुजा। त्यस्तै जाती र क्षेत्र अनुसार आफ्ना आफ्नो तरिकाले तिहारका यी ५ दिनहरु मनाउने गरिन्छ। विशेष गरी लक्ष्मी पुजाको दिन धनधान्य कि देवी लक्ष्मीको निकै पुजा आराधना गरिन्छ।
लक्ष्मी पुजा गर्दा लक्ष्मीको आशिर्बाद प्राप्त हुने र आथिक अभाव नहुने विश्वास गरिन्छ। लक्ष्मी भित्र्याउन घर भित्र र बाहिर समेत झिलिमिली उज्यालो बनाउने काम गरिन्छ भने आफुसँग भएको पैसा वा गरगहनाको समेत पुजा गरिन्छ।
तिहारको अन्तिम दिन भाइटीका हो। यसलाई दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई संधै प्रगाढ बनाउन निकै सहयोगी मानिन्छ। बिशेष गरी विवाहित महिलाहरुको लागि तिहार आफ्ना दाजुभाइसँग निरन्तर नजिकिने उत्तम माध्यमको रुपमा लिइन्छ।
घरायसी काम होस वा अन्य बाध्यताले होस अघिपछि भेटघाट गर्न नसक्ने महिलाहरु तिहारमा दाजुभाइलाइ टीका लगाइदिन जाने वा आफ्नो घरमा बोलाउने गर्छन। यसले गर्दा बिबाह गरेर गए पनि दिदीबहिनी दाजुभाइको सम्बन्ध सँधै ताजा भैरहन्छ।
तिहारको सुरुवातको बारेमा धेरै किम्बदन्तीहरु छन्। कसैले नरकासुरको बध पछि कृष्ण भगवान आफ्नो बहिनी शुभद्रालाइ भेट्न आएको दिन हो भनेर मानिन्छ भने बिशेष गरी नेपालमा यमराजले आफ्नी जुम्ल्याहा बहिनी यमुनालाइ भेट्न आएको किम्बदन्ती अनुसार यो चाड मनाइन्छ।
यमराज लामो समय पछि आफ्नी बहिनी यमुनालाई भेट्न जाँदा यमुनाले आफ्नो जुम्ल्याहा दाइलाई धेरै राम्रोसंग स्वागत गरिन। उनले मिठामिठा खानेकुरा दिइन। यमराजलाई टीका र माला पनि लगाइदिइन। यसबाट प्रसन्न भएका यमराजले त्यो दिन जसले आफ्ना दिदीबहिनीको हातबाट टीका लगाउछ, उनीहरुलाई मृत्युले नछुने बरदान दिए।
यी र यस्ता धेरै किम्बदन्तीहरु हामी सुन्दै आएका छौं। तिहार सयौं बर्ष देखि नेपाली समाजमा त्यहि निरन्तरताको रुपमा मनाउदै आइएको छ। विदेश जाने चलन शुरु भए पछि पनि नेपालीहरुले बिदेशमा सोहि परम्परा कायम गर्दै आएका छन्।
आफ्नो बैदिक परम्परा र संस्कृतिको उदगमस्थललाइ आधार मानेर दशकौं देखि प्रवासमा हाम्रा पर्वहरु मनाउने गरिएको छ। जति धनि, जति ज्ञानी भए पनि छोरो बाउ भन्दा जेठो हुन्न भन्ने संस्कारमा हुर्केर बिदेशिएका नेपालीहरुले त्यो परम्परालाई आत्मसाथ गर्दै पर्वहरु मनाउदै आएका छन्।
हामीले मनाउने पर्वहरु एक परम्पराहरु हुन्। यसमा तर्क बितर्क भन्दा पनि परम्पराको निरन्तरता नै अन्तिम सत्य हो। गलत परम्परा हटाउनु पर्ने भए पनि एकरुपता, एकता र निरन्तरताको लागि परम्परा बचाउनु अत्यन्त आबस्यक छ।
तिहार लगायत हाम्रा सबै चाडपर्बहरुलाई सबैलाई जोड्ने अस्त्रको रुपमा प्रयोग हुने वातावरण निर्माण गर्न बजारमा बजाइएका डम्फ़ुहरुको स्वर क्रमश मत्थर गर्ने तर्फ सबै लाग्नु पर्छ ताकि हामि सबैले एकै चोटी हाम्रा, पर्वहरु मनाउने वातावरण बनोस।
तिहार उज्यालोको पुजा गर्ने पर्व पनि भएकोले सबैको जीवनमा उज्यालो छाओस। धनधान्यले सबैलाई पूर्ण होस। प्रवासी समाजमा एकताको उज्यालो वाताबरण बनोस। फेरी पनि सबैमा यहि शुभकामना।