नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत थम्प्सनद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

Getting your Trinity Audio player ready...
|
काठमाडौं/ नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार नवनियुक्त राजदूतले राष्ट्रपति प्रमण पत्र पेश गरेका हुन्।
राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि एक वक्तव्य जारी गर्दै थम्पसनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताएका छन्।
‘यस अवसरले मलाई विनयशील बनाएको छ र सार्वभौमसत्ता र साझा मूल्यमान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबिचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु,’ उनले भनेका छन्।
राजदूत थम्पसनले अहिलेको क्षण दुई मुलुकका लागि महत्त्वपूर्ण क्षण भएको उल्लेख गरेका छन्।
‘म हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीहरूसँग सहकार्य गर्न उत्सुक छु। आगामी वर्षहरूमा अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न सहयोग गरिरहनेछ,’ थम्पसनले भनेका छन्,‘जलवायु सङ्कटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा हामी नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्नेछौं।’
फोटो : काठमाडौं स्थित अमेरिकी दुतावासको फेसबुक पेजबाट