भिसा बापत संकलित रकमको सहटीमा सुविधा थप

Getting your Trinity Audio player ready...
|
काठमाडौं । संघीय तथा प्रदेश सभा चुनावको मिति नजिक भएसँगै नेपाल राष्ट्र बैंकले भिसा बापत संकलन भएको नेपाली रुपैयाँको सहटी सुविधा थप गरेको छ ।
केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त वाणिज्य बैंक र ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र अन्य निकायलाई निर्देशन जारी गरेको छ । जसमा भिसा बापत संकलन भएको नेपाली रुपैयाँको सहटी सुविधा थपिएको छ ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले ई–भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेका शर्तहरु पालना हुने गरी त्यस्ता तोकिएका संस्थाहरुमार्फत् भिसा बापत संकलित रकमको लागि बैंक तथा आधारमा वित्तीय संस्थाबाट जारी विद्युतीय तथा डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकको जारी सूचना अनुसार, भिसा शुल्कबापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवर्त्य विदेशी मुद्राको यस्तो सटहीको विवरण खाता वा सम्बन्धित देशको नेपालस्थित दूतावास नियोगको तोकिएको परिवर्त्य विदेशी मुद्राको खातामा मात्र जम्मा हुनु पर्ने छ । त्यसका लागि भुक्तानीको व्यवस्था स्पष्टरुपमा खुल्ने सम्बन्धित मुलुक वा नेपालस्थित दूतावास नियोगको पत्र समेत आवश्यक पर्नेछ ।
यस्तो कार्डबाट अन्य कुनै पनि प्रयोजनका लागि भुक्तानी नहुने व्यवस्था गर्नु पर्नेछ । यस्तो कार्डको म्याद ईभिसा प्रोसेसिङ सम्बन्धी कार्य गर्नको लागि तोकिएको अवधिभन्दा बढी नहुने व्यवस्था गर्नु पर्नेछ । यस्तो कार्डबाट एकै पटक वा पटक–पटक गरी भुक्तानी हुन सक्नेछ र यस एकीकृत परिपत्र–२०७८ मा अन्यत्र उल्लिखित कुनै पनि रकम भुक्तानीसम्बन्धी सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।