वीर अस्पतालमा ओपन हार्ट सर्जरी १४ वर्षपछि फेरी सुरु भयो
काठमाडौं
वीर अस्पतालमा १४ वर्षदेखि रोकिएको ओपन हार्ट सर्जरी सेवा पुनः सुरु भएको छ । बिहीबार मुटु शल्यचिकित्सक डा. किरण श्रेष्ठ नेतृत्वको टोलीले २१ वर्षीया युवतीको ओपन हार्ट सर्जरी गरेको हो ।
दुई साताअघि दोलखाकी एक युवती सामान्य जाँचका लागि अस्पताल आएको परीक्षणको क्रममा मुटुमा जन्मजात प्वाल रहेको थाहा भएपछि शल्यक्रिया गरिएको हो ।
अस्पताल प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार अस्पतालले गरेको मुटुको यो शल्यक्रिया ९९ औं हो । यसभन्दा अगाडि १४ बर्षअघि ओपन हार्ट सर्जरी भएको थियो । उपकरण बिग्रिएसँगै शल्यक्रिया रोकिएको थियो । पुराना उपकरण मर्मत र नयाँ उपकरण पनि ल्याए पछि अब नियमित रूपमा ओपन हार्ट सर्जरी गरिने पनि डा. बस्नेतले जानकारी दिए ।
शल्यक्रिया गरिएकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
शल्यक्रियाका लागि अस्पतालमा आवश्यक उपकरण र पर्याप्त जनशक्ति भएकाले अब देखि यो सेवा नियमित दिन सकिने डा. बस्नेतको भनाइ छ । अब कम्तीमा हप्ताको दुई वटा ओपन हार्ट सजरी गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
शल्यक्रियामा ओपन हार्ट विभागीय प्रमुख डा. किरण श्रेष्ठ, हार्ट सर्जन डा. दीक्षा जोशी, डा. दिनेश चापागाईं सहभागी थिए । त्यस्तै एनेस्थेसिया टिममा डा. रविराम श्रेष्ठ, डा. प्रदीपराज वैद्य, डा. सुरेन्द्र भुसाल, डा. एलन अमात्य, डा. रोमन कार्की थिए ।
नर्सिङ टिममा संगीता श्रेष्ठ, मुना श्रेष्ठ, उजेली पछाई, नविता देवकोटा र कार्डियोलोजी टोलीमा डा. समीर पौडेल, डा. प्रभा चापागाई, डा. विनायक गौतमको टिम सहभागी थियो ।
त्यसैगरी, गंगालालबाट डा. रवीन्द्रभक्त तिमिलाको नेतृत्वमा डा. आशिष गोविन्द अमात्य, डा. स्मृति बज्राचार्य, डा. कुञ्जन शेर्पा, नर्स प्रतिमा आचार्य, शकुन्तला महत, प्रिफ्युजनिष्ट प्रेमकान्त चौधरी, उमेश खानसहितको टोलीले सहयोग गरेको थियो ।
अस्पतालमा मुटु रोग सम्बन्धी समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने छन् ।
त्यसैगरी अबको केही महिनामा नै अस्पतालबाट क्याथ ल्याब सेवासमेत दिने बताइएको छ । ‘प्रविधि र जनशक्ति तयार भएको छ, अबको दुई–तीन महिनाभित्र क्याथ ल्याबबाट सेवा दिन्छौं । यसका लागि भइसकेको छ’, डा. बस्नेतले भने ।















