देउवालाई गगनको दनक : “निर्वाचित महामन्त्रीले पार्टी र सरकारका कामबारे बाहिरबाट थाहा पाउनु पर्ने ?”

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफु माथिको आलोचनाको बचाउ गरेका छन्।
पार्टी मुख्यालयमा जारी केन्द्रीय कमिटिको बैठकमा महामन्त्रीहरु सेलिब्रेटि हुन खोजेको भन्दै सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरुले आलोचना गरेका थिए। पार्टीको कुरा समाजिक सञ्जालमा व्यक्त गरेको भन्दै आलोचना भएको थियो।
एक केन्द्रीय सदस्यका अनुसार शनिवारको बैठकमा महामन्त्री थापा सभापति देउवा र उनको टिमप्रति आक्रामक रुपमा प्रस्तुत भए। थापाले निर्वाचित महामन्त्रीले पार्टी र सरकारका कामबारे बाहिरबाट थाहा पाउनुपरेपछि प्रतिक्रिया पनि बाहिरबाटै दिनुपरेको बताए।
“सभापतिले महामन्त्रीहरुको जिम्मेवारी र हैसियतबारे प्रष्ट पार्नुस् । केन्द्रीय सदस्य साथीहरुले सभापति खुसी बनाउँन हामीलाई गाली गर्ने कुराले पार्टी र सभापति दुवैलाई फाइदा गर्दैन।” भनेर महामन्त्री थापाले भनेको ती सदस्यले बताए।
गुटको भेलाका बारेमा पनि महामन्त्री थापाले जवाफ दिएका थिए। “ठूलो घर हुनेले बुढानिलकण्ठमा घरमै गरेको पनि हो । ठूलो घर नहुनेले पार्टी प्यालेसमा गर्छन् ।”
महामन्त्री थापाले पार्टी सञ्चालन प्रक्रियामा आपत्ति जनाएका थिए। निर्वाचित महामन्त्रीको भूमिका सभापतिको निर्णयमा ताली बजाउँनेमात्र नभएको बताएका थिए । थापाले कांग्रेसमा आत्मविश्वास गुम्दै गएको टिप्पणी गरेका थिए। “कांग्रेसमा एक्लै लडेर चुनाव जितिन्छ भन्ने आत्मविश्वास गुम्दै गयो, अहिले ३ सय भन्दा धेरै जित्यौ भनेर दम्भ प्रकट भएको छ। त्यो नराखेको राम्रो । ठूला सहरमा धक्का लागेको छ । लघुताभाषका साथ हामी एक्लै लड्न सकिन्छ ?”
महान्त्री थापाले सुशील कोइराला सभापति हुदा देउवाले गरेको व्यवहारका बारेमा पनि प्रसंङ्ग उठाएका थिए। उनले एजेण्डा उठाउदा आफुलाई नखेद्न पनि आग्रह गरेका थिए।

विगतमा केपी ओलीलाई गरेका प्रश्नले आफूहरुलाई लेखेट्न थाल्यो
थापा सँगै अर्का महान्त्री विश्वप्रकाश शर्माले ले सरकारको काम कार्वाही बचाउ गर्ने खालको भएको भन्दै प्रश्न उठाएका थिए। महामन्त्रीद्वय थापा र शर्माले एक वर्ष सरकार चलाउँदा जवाफ दिन सकिने कुनै काम नभएको आरोप लगाए। उनीहरुले विगतमा केपी ओलीलाई गरेका प्रश्नले आफूहरुलाई लेखेट्न थालेको टिप्पणी गरेका थिए।
“हिजो ओली हुँदा सरकार कसरी चलाउँछौं हेर्नू ? भनेका थियौं । आज सरकार कसरी चलेको छ देखिएको छ ? डिफेन्स गर्ने अवस्था छैन ।” थापाले भने।
यस्तै महामन्त्री शर्माले पनि केपी ओलीले गलत गरेको भनेर आफूहरुले प्रश्न उठाएका कतिपय विभागहरु प्रधानमन्त्री माहतहत नै राखिनु र संवैधानिक परिषद विधेयक जस्ता कुरामा सरकारका कारण आफूहरुले जवाफ दिने अवस्था नभएको बताएका थिए ।
नाकको झिगा देखाउने धनराजलाई देखउको चुनौति
बैठकमा महामन्त्रीहरु सँगै उपसभापति धनराज गुरुङ पनि देउवा प्रति आक्रमक देखिए। उनले नाक र झिँगाको प्रसंङ्ग निकालेका थिए। “सभापतिको नाकमा झिँका बसेको भन्दै केही सदस्यहरुले झिँगा मार्न नाकमा तरवार हान्न लागे” भनेर गुरुङले भन्दै गर्दा देउवाले खोइ मेरो नाकमा झिँगा भनेर प्रश्न गरेका थिए। तर पछि गुरुङले “निदाएको बेला थाहा नहुने” भन्दै जवाफ फर्काएका थिए।
प्रचण्डलाई छोड्न सकिदैन

बैठकमा बोल्दै सभापति सभापति देउवाले प्रचण्डलाई छोड्न नसकिने बताए। उनले आफ्नो एकमात्र उद्देश्य कांगेसलाई पहिलो पार्टी बनाउँने रहेको बताए। त्यसका लागि आउदो निर्वाचनमा गठबन्धन गरिने बताए।
“प्रचण्डलाई गिरिजाबाबुले दिल्लीबाट लिएर आउनुभएको हो, उनलाई छाडेर जान सकिन्न।” देउवाले बैठकमा भने “माधव नेपालल पनि पार्टी फुटाएर आएका छन्, उनलाई पनि चटक्कै छाड्न सकिन्न । कसैलाई अलपत्र पार्ने होइन, सबैलाई लिएर गठबन्धन अगाडि बढ्छ ।”
उनले आफुले पार्टीमा सबैलाई मिलाएर लैजाने कसैलाई काखापाखा नगर्ने बताए ।