नेपाल चीन मैत्री समाजको मञ्च : नारायणकाजीको प्रस्ताव वाम तालमेल गरौ, ओली भन्छन् कांग्रेसको पुच्छर हुन छाड्
काठमाडौं । नेपाल चीन हिमालयन मैत्री समाजको कार्यक्रममा वाम एकताको प्रसंङ्ग उठेको छ।
समाजद्वारा शनिवार काठमाडौंमा आयोजित “नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अबको बाटो” बिषयक बिचार गोष्ठीमा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वाम तालमेलको प्रस्वाव राखे ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीको समेत उपस्थिति रहेको कार्यक्रममा श्रेष्ठले आउने चुनावमा पार्टी एकता नभए पनि एमाले र माओवादीबीच तालमेल गर्न प्रस्ताव राखेका हुन्।
नेता श्रेष्ठले देश जोगाउन वामपन्थी एकता र कमसेकम तालमेल तथा संयुक्त मोर्चातर्फ जानैपर्ने बताए । उनले नेकपा एकता जोगाउन नसकेकोमा आफू पनि भागीदार रहेको भन्दै सोही मञ्चबाट आत्मालोचनासमेत गरे ।
जवाफमा एमाले अध्यक्ष ओलीले वामपन्थी एकता र तालमेल चाहनेहरुले कांग्रेसको पुच्छर हुन छाड्नु पर्ने बताए । उनले वाम तालमेलका लागि गठबन्धन छाडेर आउँन आग्रह गरे।
“यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न,गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउँन आग्रह गर्छु।” ओलीले भने “चौंरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउँन अदालतमा मुद्दा हाल्न गएको होइन वामपन्थी ?”
“कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउँन संसदबाट सकेनौं त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी?” ओलीले प्रश्न गरे।