नागरिकता विधेयकका लागि एनआरएनए पदाधिकारीको नेतासँग भेटघाट तिब्र
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको छ ।
भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको छ ।
प्रतिनिधिमण्डलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेको थियो ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवाद दिएका थिए ।
विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई संबोधन गर्न भेटमा उनीहरुले आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने विश्वास व्यक्त गरेका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय श्री गणेश प्रसाद तिमिल्सिना संग भेटघाटः
एनआरएनएका पदाधिकारीले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना संग पनि भेटघाट गरेका छन्। उक्त भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी लगायतका प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गरेका थिए । अध्यक्ष तिमिल्सिनाले गैरआवासीय नेपाली नागरिका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसिकने र यदि यसमा केही सुधार गर्नु पर्ने विषय प्रतिनिधि सभाले नै गर्ने बताए। साथै, उनले नागरिकता ऐन राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पुरा गरिदिने जानकारी गराए ।
सो भेटघाटमा उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोट र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।
प्रतिनिधि मण्डलले संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङ सँग पनि भेटघाट गरेको छ। उक्त भेटघाटमा सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गरेका थिए ।
नेमाङ् गैरआवासीय नेपाली नागरिकताको विषयमा सुरुको अवस्था देखी संलग्न रहदै आएका नेता हुन।
प्रतिनिधि मण्डलले गृह सचिव टेक नारायण पाण्डे सँग भेटघाट गर्यो । प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन सम्बन्धमा छलफल गरेका थिए ।
सचिव पाण्डेले संशोधित ऐन बारे जानकारी दिदै विभिन्न राजनैतिक दलका शिर्ष नेताहरुसंग छलफल गर्न सुझाव दिएका थिए।
गुठी संस्थानका अध्यक्ष र पशुपति विकास कोष क्षेत्रका सदस्य सचिव संग भेटघाटः
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्रि केसी लगायतका पदाधिकारीले गुठी संस्थानका अध्यक्ष पुण्य प्रसाद भुसाल र पशुपति विकास कोष क्षेत्रका सदस्य सचिव डा मिलन थापा सँग भेटगरी संघले पशुपति क्षेत्रमा निर्माण गर्न लागेको अत्याधुनिक बृद्धाश्रम बारे जानकारी दिदै उक्त भवनको लागि चाहिने जग्गा यथाशिघ्र उपलब्ध गराउनको लागि अनुरोध गरेको छ। प्रतिउत्तरमा एक हप्ता भित्र नै जग्गा उपलब्ध गराउने जानकारी दिएको एनआरएनए सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको।