पाँचौ एनएसी सकर च्याम्पियनसिप शुक्रवारबाट, उद्घाटन खेल आयोजक बाल्टिमोर र फारवेष्ट बीच
बाल्टिमोर, अमेरिका। पाँचौ एनएसी (नेप्लीज अमेरिकन कन्भेन्सन) सकर च्याम्पियनसिप शुक्रवार देखि मेरिल्याण्ड राज्यको बाल्टिमोरमा शुरु हुदै छ।
तीन दिन सम्म सञ्चालन हुने च्याम्पियनसिपको उद्घाटन खेल शुक्रवार विहान ८ बजे आयोजक बाल्टिमोर एथलेटिक क्लब र फारवेष्ट युनाइटेड बीच हनीगो रन फिल्डमा हुने छ।
कुल १६ टिमले भाग लिएको च्याम्पियनसिपको पहिलो दिन शुक्रवार नै समुह चरणका १६ खेल हुने छ। हनीगो रन फिल्डमा थप सात खेल हुने छन भने बाँकी आठ खेल इस्टन रिजलन पार्कमा हुने छन्।
बाल्टिमोर एथलेटिक्स क्लबका म्यानेजर तथा कप्तान विवेक तामाङका अनुसार च्याम्पिनसिप लिगकम नकआउटका आधारमा हुने छ। लिगका आधारमा हुने समुह चरणको खेल पछि शिर्ष दुई टिम क्वाटर फाइनलमा पुग्ने छन्।
समुह चरणमा एउटा टिमले दुई खेल खेल्ने छन् । समुह चरणका खेल ३०-३० मिनेट खेलाइने छ। यस्तै क्वाटर फाइनल ३५-३५ र सेमीफाइनल ४०-४० मिनेटको हुने छ। फाइनल भने ४५-४५ मिनेट नै खेलाइने छ।
म्यानेजर तामाङका अनुसार एक टिमका २५ खेलाडी रहने छ । च्याम्पियनसिपको दोस्रो दिन क्वाटर फाइनल र सेमीफाइनल खेल हुने छन्। अन्तिम दिन जुलाई तीन तारिक आइतवार विहान नौ बजे फाइनल खेल हुने छ।
प्रतियोगिताको विजेता टिमले दश हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छ। दोस्रो हुने टिमको भागमा पाँच हजार डलर पर्ने छ।
म्यानेजर तामाङका अनुसार च्याम्पियनसिपका लागि कुल ४० हजार अमेरिकी डलरको बजेट रहेको छ। टिम दर्ता शुल्क एक हजार डलर तोकिएको छ।
च्याम्पियनसिपलाई साथी बाल्टिमोर र गैरआवासीय नेपाली संघ (एनआरएनए) मेरिल्याण्ड च्याप्टरले सहयोग गरेका छन् ।
च्याम्पियनसिपको अघिल्लो दिन बिहिवार साँझ सहभागि सबै टिमलाई आयोजकले रात्रीभोजको आयोजना गरिदै छ। एनएसी च्याप्पियनसिप सन् २०१५ मा लसएञ्जलसबाट शुरु भएको हो। हरेक वर्ष फरक फरक राज्यमा आयोजना गर्न लक्ष्य राखिएको च्याम्पियनसिप २०१६ मा टेक्सासमा भएको थियो। यस्तै सन् २०१७ मा पुन लसएञ्जलस फर्किएको च्याम्पियनसिप २०१८ मा डिसीमा भएको थियो । त्यस पछि कोरोना महामारीमा कारण च्याम्पियनसिप रोकिदै आएको थियो।