न्यूयोर्क स्थित एल्महर्स्ट हस्पिटल कम्युनिटि सल्लाहकार बोर्डमा तीन नेपाली,अध्यक्षमा लुईसाङ वाईबा
न्यूयोर्क। नेपालीको बाक्लो बसोबास रहेको न्यूयोर्कको क्विन्स स्थित एल्महर्स्ट अस्पतालको कम्युनिटि बोर्ड सल्लाहकारमा तीन नेपाली मनोनित भएका छन् ।
ज्याक्सनहाइटमा रहेको एल्महर्स्ट अस्पतालले सल्लाहाकार बोर्ड अध्यक्षमा लुईसाङ वाईबालाई मनोनयन गरेको छ। यसै गरि यादव बास्तोला र मिलन कुमार शाही बोर्ड सदस्यमा मनोनित भएका छन्।
नेपाली आदिबासी जनजाति महासंघ अमेरिका पूर्व अध्यक्ष वाईबा, तामाङ समाज अमेरिकाको संरक्षक तथा ‘नेपाल डे परेड,न्यूयोर्कका संस्थापक मध्येका एक हुन् ।
एशियाली समुदायको बाहुल्यता रहेको क्षेत्रमा यो ठूलो अस्पताल हो । कम्युनिटि सल्लाहकार बोर्ड गठन अस्पतालको क्षेत्रमा रहेका विभिन्न समुदायका प्रतिनिधिको सहभागितामा हुन्छ।
२५ सदस्यीय बोर्डको अध्यक्षमा मनोनित हुने वाईबा पहिलो दक्षिण एशियाली हुन् । वाईबा यस अगाडि बोर्ड सदस्य रहेका थिए । शाही र बास्तोला बोर्डको सदस्यमा दोस्रो कार्यकालका लागि मनोनित भएका हुन्।
“आफ्ना समुदायलाई अस्पतालको सेवा सुविधा कसरी सहज रुपमा लिने वातावरण बनाउने भन्ने नै हाम्रो मुख्य जिम्मेवारी हो।” अध्यक्षमा मनोनित भए पछि वाईबाले समाज टाइम्स सँग भने, “समुदाय र अस्पतलको बीचमा सहजीकरणको भूमिका खेल्ने काम हुन्छ।”















