कुन जिल्लाको मतपत्र कस्तो ? (नमूना मतपत्रसहित)
काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।
६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।
नमूना मतपत्रका लागि यहाँ क्लिक गर्नुस्
स्वतन्त्र उम्मेदवारलाई ४० प्रकारको चिह्नमध्येबाट निर्वाचन चिह्न
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाटै निर्वाचन चिह्न दिने तयारी गरेको छ ।
देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरूलाई आयोगले निर्वाचन चिह्न आज दिने भएको हो ।
४० प्रकारका निर्वाचन चिह्नहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, प्रेसर कुकर, ग्याँस सिलिण्डर, गरगहना, चोलो, फ्रक, चुलेसी, धारो, टायर, रिक्सालगायत छन् ।
आयोगगले स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची राखेको छ । तर, स्वतन्त्र उम्मेदवारलाई भने निर्वाचन चिह्न छान्ने सुविधा भने नभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
६ वटा राष्ट्रिय दलले भने आफ्नै निर्वाचन चिह्न प्राप्त गर्नेछन् । ती दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी हुन् ।
राष्ट्रिय मान्यता प्राप्त दलले दलकै चिह्न पाउने व्यवसथा स्थानीय तह निर्वाचन निर्देशिकामा उल्लेख छ ।
राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा, विवेकशील साझा पार्टीलगायत २३ दलले पनि आफ्नै निर्वाचन चिह्न पाउने आयोगले जनाएको छ ।
समानुपातिक प्रणालीतर्फ यसअघि सहभागी नभएका दलसँगै राप्रपा नेपाल, जनमत पार्टीसहितका ४० वटा दलले पनि दलकै चिह्न पाउने भएका छन् ।