एनआरएनए अमेरिका अध्यक्ष बुद्दि सुवेदी माथि पदाधिकारीको आरोप “बैठकमा बोल्न दिदैनन्,सदस्यता शुद्दिकरणमा अवरोध गरे”

बिष्णु हरि घिमिरे
ल्यानक्यास्टर। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्दि सागर सुवेदीले सदस्यता शुद्दिकरणमा अवरोध गरेको आरोप पदाधिकारीले लगाएका छन् ।
उनीहरुले अध्यक्ष सुवेदीले बैठकमा सहभागिलाई बोल्न नदिएको र जबरजस्ति आफ्नो निर्णय लाद्ने गरेको पनि आरोप लगाएका छन् । अडियो म्युट गरेर एकातर्फी रुपमा अध्यक्ष सुवेदीले आफ्नो भनाई सुनाएर बैठकको निर्णय भन्ने गरेको भन्दै पाधिकारीले सामाजिक सञ्जालमा नै आपत्ति जनाएका छन् ।
“निर्वाचित उपाध्यक्षको हैसीयतले यो कार्यसमितिमा बस्नुको कुनै औचित्य रहेन, भित्र बसेर निरीह हुनेकी बाहिर बसेर यस्ता विकृतीको खुलेर बहस गर्ने? निर्णय लिने बेला आयो, सम्पूर्ण मलाई चुनेर पठाउने साथिहरूको सल्लाहको अपेक्षा गर्दछु।” एनआरएनए अमेरिका उपाध्यक्ष बिकास उप्रेतिले बैठक पछि सामाजिक सञ्जालमा लेखेका छन्।
यस्तै अर्की उपाध्यक्ष दिक्षा बस्नेतले पनि असन्तुष्टी व्यक्त गरेकी छिन्। “एनआरएन अमेरिकाको शुद्दिकरण,निश्पक्षिकरण र रुपान्त्रीकरणका लागि हजारौ घण्टा बिताइयो,गैरआवासीय नेपाली नागरिकता प्रमुख एजेन्डा, एकादेशको कथा बन्दैगर्दा,फेरी पद र बहुमतको घमण्ड अहम्ता किन?हामी आफैंमा मनन गरौं।”
बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले पनि निरास व्यक्त गर्दै स्टाटस लेखेका छन् । उनले भनेका छन् “एनआरएनए,अमेरिकाको रुपान्तरण एबं शुद्दिकरणको पक्षमा धेरै समय खर्च गरियो तर कुनै परिवर्तन गर्न सकिएन ! संघर्ष जारी छ !”
“अस्तिको बैठकमा मुख्य तीन एजेण्डा सदस्यता खुलाउने, आइसीसीको शुल्क बुझाउने र साधरण सभामा मिति परिवर्तनमा हाम्रो असहमति थियो। फ्लोरिडाको बैठकको निर्णय नउल्टाउ भन्ने हो तर अध्यक्षले मान्नु भएन।” बरिष्ठ उपाध्यक्ष पन्तले सामाज टाइम्स सँग भने। “हामीले बोलेर अर्थ नै हुदैन अध्यक्षले सबैलाई म्युट गर्ने यो यो भनेर सुनाउने र बैठक सकियो भन्ने गर्नुहुन्छ। छलफल नै हुन पाउदैन हामी त साक्षी बसेको जस्तो मात्र हुने भयो।”
अध्यक्ष सुवेदीले लिडरसिप देखाउन नसकेको आरोप पनि पन्तको छ। “बाहिर को कस्को कुरा सुनेर आउनु हुन्छ अनि आफैले गरेको निर्णय उल्टाउनु हुन्छ। त्यो राम्रो भएन पहिला जुलाईको अन्तिम साता क्यालिफोर्नियामा साधरण सभा आयोजना गर्ने भनिएको थियो अहिले फेरि परिवर्तन भयो, एएनएसँग जुधाइयो । त्यसो हो भने टेक्सासमा नै गरौ न सबैलाई सजिलो हुन्छ भनेको त्यो पनि मान्नु भएन।”
सदस्याता शुद्दिकरणका लागि अध्यक्षको अवरोध
अध्यक्ष सुवेदीले सदस्याता शुद्दिकरणमा पनि आफुहरुको कुरै नसुनेको पन्तको दावी छ । “हामीले सदस्यता वितरण प्रणाली यथावत राख्दा विवाद हुन्छ त्यसमा सुधार गरौ भनेको उहाँले मान्दै मान्नु भएन। कम्तिमा आफ्नो सदस्य आफैले पैसा तिरेर बन्ने र आफैले भोट हाल्ने प्रणाली बनाउ भन्ने हो।”
पन्तले प्राविधिक समस्या सुझाउन पनि सकिने बताए। “सदस्यता नखुलाउने भनेको होइन एउटा कुरा एमआइएस सिस्टम छ आइसीसीको, त्यसमा गएर मेम्वर बनाउने भन्ने हो, अर्को त्यो सिस्टम तयार छैन भने, त्यो टेक्निकल कुरा विश्वासनिय छैन भने हाम्रै सिस्टमलाई अपग्रेड गरौ कम्तिमा फेस रिडिङ्ग र आफ्नो क्रेडिट कार्डबाट मात्र मेम्वर बनाउने गरौ भनेको अध्यक्ष मान्नु हुन्न।” पन्तले गुनासो गरे।
शुद्दिकरण गर्दा सदस्य घट्ने तर्क अध्यक्ष सुवेदीले राखेको पन्तको भनाइ छ ।”मेम्वर घट्छ भनेर सधै कम्युटरमा राखेको २२-५५ सय मतलाई २० डलर तिरेर अटोरिन्यु गराएर हुन्छ ? त्यसो हो भने हामी किन चुनाव लड्ने । चुनाव आउन लागे पछि टोलटोलमा गएर आइडी उठाएको छ। निश्पक्ष गरौ अहिले केही मत घट्ला तर समाजमा राम्रो सन्देश त जान्छ भनेको अध्यक्ष मान्नु भएन।”
“आफैले पैसा तिरेर आफैले भोट हाल्ने पद्दतिको शुरु भएको छ भनेर जमिनमा उभिएर बोल्न सक्ने हैसियत त हुनु पर्यो नि हाम्रो । सधैं फेक गरेर त हुदैनी, भित्रिकुरा त हामीलाई थाहा छ नी, कसरी चुनाव हुन्छ कसरी सदस्य बनाइन्छ भन्ने।” पन्तले भने, “कार्यसमितिमा १०-१२ जनाले मेरो भनाइमा सहमत जनाइरहेका छन तर उहाँले आइटीलाई यसै सदस्यता खुलाउने भनेर आदेश दिनु भयो त्यसरी कसरी काम गर्ने?”
आइसीसीलाई पैसा पठाउन मानेनन्
पन्तले आइसीसीलाई तिर्नु पर्ने शुल्कका बारेमा पनि असहमति राखेका छन्। “आइसीसीलाई पठाउने पैसा पनि पठाउ भनेको अहिले सकिदैन अर्को पटक पठाउने भन्न थाले । सरर एक पटक बोल्न दिने त्यस पछि म्युट गरेर निर्णय सुनाउने गरिन्छ यो चै गलत भइरकेको छ।” पन्तले भने “हामी त अव बैठकमा जाने नजाने भन्ने भइरहेको छ । उहाँहरु हिजो जुन प्रवृति छ त्यसमा टसमस गर्ने पक्षमा नै छैनन।”
म सुधार गरेर जान्छु : सुवेदी
अध्यक्ष सुवेदीले पदाधिकारीहरुको असहमतिलाई सम्बोधन गरिने बताए ।”अस्तिको बैठकमा एक दुई कुरामा उहाँहरुको असहमति भएको हो तर मैले पुन कुरा गरिसके, उहाँको केही कुरा छन त्यसलाई सम्बोधन गरेर जाने भन्ने भएको छ।” सुवेदीले भने।
अध्यक्ष सुवेदीले बैठकमा बोल्न नदिएको भन्ने कुरामा सत्यता नभको दावी गरे ।”उहाँहरुको सामाजिक सञ्जालमा प्रतिकृया हेरे पछि मैले हिजो साँझ कुरा गरे खासमा उहाँहरुले बैठकमा बोल्न पाएनौ भन्ने छ त्यो होइन एक पटक सबैलाई बोल्न दिएको हो।”
एउटाले बोल्दा अरुलाई म्युट गर्ने पहिला देखिकै चलन भएको र बैठकमा बढी हल्ला हुने भएकाले त्यस्तो गरिएको सुवेदीको भनाइ छ। “एक पटक बोलिसकेका साथिले फेरि हात उठाए बोल्न पाउनु पर्छ भन्ने छ अबको बैठकमा त्यस्तो अवस्थामा फेरि बोल्न दिने भन्ने छ।”
सदस्यताको बारेमा पन्तको आरोपको अध्यक्ष सुवेदीले खण्डन गरेका छन् ।”त्यो कुरा उहाँले कसरी भन्नु भयो त्यस्तो होइन मैले के भनेको छु भने म यो गिफ्टकार्डबाट सदस्य बन्ने कुरा नियन्त्रण नै गर्ने पक्षमा छु, संस्थाकै वेइज्यत भयो गिफ्ट कार्ड पूर्णरुपमा बन्द गर्नु पर्छ।” अध्यक्ष सुवेदीले समाज टाइम्स सँगको कुराकानीमा भने, “मेरो भनाई के भने अहिले विधानमा जे छ त्यो भन्दा बाहिर जान हुदैन, भोलि कानुनी चुनौति आउन सक्छ। अहिले हामीले विधान संसोधन नगर्दै गर्न सकिने भनेको गिफ्टकार्ड डिनाइ गर्ने हो, त्यो गरौ भनेर मैले कोषाध्यक्षलाई भनेको छु।”
अध्यक्ष सुवेदीले आवश्यक कागजपत्र अझै प्राप्त नभएकोले आइसीसीलाई शुल्क तिर्न ढिलाई भएको बताए।
एनआरएनए अमेरिकाको साधरण सभा जुलाई ३ र ४ नर्थ क्यारोलिनामा
एनआरएनए अमेरिकाको वार्षिक साधरण सभा जुलाई ३ र ४ तारिक नर्थ क्यारोलिनामा हुने भएको छ।
एनआरएनए अमेरिकाको गत आइतवार बसेको बैठकले साधरण सभाको मिति तय गरेको हो। यस अघि फोरिडामा भएको बैठकले जुलाइ अन्तिम साता साधरण सभा गर्ने निर्णय गरेको थियो।
नेपालीहरुको अर्को संस्था एसोसिएसन अफ नेपाली इन द अमेरिका (एएनए) को साधरण सभा सँग नजुधाउने भन्दै त्यस्तो निर्णय गरिएको थियो। तर विधान बाधक हुने भन्दै निर्णय सच्याइएको एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीले समाज टाइम्स सँग बताए। “एएनए, एन्माहरुको साधरण सभा नजुधाउ भनिएको हो तर एनआरनएको विधानमा नै जुलाई पहिलो हप्ता साधरण सभा गर्ने भनेर लेखिएको अवस्थामा विधान भन्दा बाहिर जान हुदैन बरु अर्को पटकलाई सच्याउदा हुन्छ नत्र कानुनी झमेला आउन सक्छ भन्ने सल्लाह भयो त्यही भएर फ्लोरिडाको निर्णय सच्चाइएको हो।”सुवेदीले भने।