विप्लवको बहानामा चुनाव सार्न खोजिँदै छ, अध्यादेश ल्याउने प्रयास जारी छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचनमा सहभागी गराउने बहनामा घोषित निर्वाचन सार्ने योजनामा रहेको आरोप लगाएका छन् ।
ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै चन्द नेतृत्वको पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउनका लागि अध्यादेशमार्फत कानुन ल्याएर निर्वाचन सार्न खोजेको भन्दै त्यो कदम राष्ट्र र जनताको विरुद्ध हुने ओलीको आरोप छ ।
‘विप्लवजीको निर्वाचनमा भाग लिन पाउनु पर्ने बहाना बनाएर चुनाव सार्न खोज्दैछ, त्यसका लागि सरकारले अध्यादेश ल्याउन लागिरहेको छ,’ ओलीको आरोप छ, ‘पाँच दलीय गठबन्धनको सिकार भएर कहीँ विप्लवजीहरू मौका पायो भने सफाइ पायो भने चुनावमा लड्ने बहाना बनाइरहनु भएको त छैन ? त्यस बहानामा ३० गते हुने निर्वाचन सार्न मिल्दैन, सार्न पाइँदैन, यो देशको विरुद्ध षडयन्त्र हुन्छ, जनताको विरुद्ध हुन्छ ।’ ओलीले चन्द नेतृत्वले उठाएका माग अविलम्ब पुरा गर्न पनि सरकारलाई दबाब दिएका छन् ।
भ्रम नहोस् वामपन्थी सिंगल एमाले हो : केपी ओली
अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दावी गरेका छन् । मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले नेकपा एमाले सिंगल बामपन्थी भएको बताए ।
‘भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो । कांग्रेसको पछाडि पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन् । आन्दोलनका पछाडि लाग्ने वामपन्थी । एमाले वामपन्थी हो । वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन् । हामी कोही झुक्किनु पर्ने अवस्था छैन् ।’ ओलीले भने ।
माओवादी केन्द्रको भाँडो रित्तो भइसकेको उनको टिप्पणी थियो । ‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन् । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरूले केन्द्र भनेका छन् । दुई चार जना नेता छन्, अधिकांशले छोडिसके ।’ ओलीले भने ।
माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउँमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको जिकिर गरे ।













