नेपालको आर्थिक अवस्था : रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति घट्यो,सरकारले पुँजीगत खर्च गर्न सकेन
काठमाडौं । अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा सरकारले मात्र ७७ अर्ब १५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा संघीय सरकारले कुल ६ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।
उक्त अवधिमा चालुतर्फ ५ खर्ब ३८ अर्ब ४४ करोड रुपैयाँ, पुँजीगततर्फ ७७ अर्ब १५ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ५९ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामासंघीय सरकारको कुल राजस्व ६ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन गरेको छ ।
यसमध्ये कर राजस्वतर्फ ६ खर्ब २७ अर्ब ९० करोड रुपैयाँ र गैर कर राजस्वतर्फ ५६ अर्ब ८० करोड रुपैयाँ परिचालन भएको छ ।
आठ महिनामा ६ खर्ब ३१ अर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो, अघिल्लो वर्षको तुलनामा १.७ प्रतिशतले कमी
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्रबैंकका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त रेमिट्यान्स नेपाल भित्रिएको हो ।
अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रने रेमिट्यान्समा १.७ प्रतिशतले कमी आएको राष्ट्रबैंकले जनाएको छ ।
अघिल्लो वर्ष २०७७ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ८.७ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स ३ प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ५ प्रतिशतले बढेको थियो ।
यसवर्षको फागुनसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९ सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या फागुन महिनासम्म २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।
द्दण्। समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई रु.७०४ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।
कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो
नेपालको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको थियो । २०७८ फागुन मसान्तमा आइपुग्दा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड डलर कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई १० खर्ब १८ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । २०७८ फागुन मसान्तसम्म आइपुग्दा ०.९ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ ।
२०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।
चालु खाता ४ खर्ब ६२ अर्बभन्दा बढी घाटामा, प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्म सरकारको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता फागुनसम्मको अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।
फागुन महिनासम्ममा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई ७ अर्ब कायम भएको राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७८ फागुनसम्ममा शोधनान्तर स्थिति २ र्ख ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति फागुनसम्म आइपुग्दा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।