देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो : अर्थमन्त्रि शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ ।
‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिदैछ । यो राष्ट्रघात हो । देशलाई त राम्रो बनाउनुपर्यो नि । श्रीलंका बनाउनतिर किन चाँसो उहाँहरूको भइराखेको छ बडो अचम्म लाग्छ ,’ मन्त्री शर्माले भने ।
सरकारले बृद्धभत्ता कटौती गर्न लागेको, अन्य काम पनि कटौती गर्न लागेको भन्दै भ्रम फैलाउने काम भइरहेको उनको भनाइ छ । ‘हामीले आवश्यकता अनुसार बजेटको व्यवस्था गरिरहेका छौं । बृद्धभत्ता कटौती गर्न लाग्यो, यसो गर्न लाग्यो भनेर भ्रम फैलाउने काम भइरहेको छ । यी सबै अफवाहहरू हुन् ,’ उनले भने ।
ठूलो ठूलो स्वरमा अर्थतन्त्र सकियो भन्दै राजनीतिकरण गर्न खोजिएको उनको भनाइ छ । ‘हामी पनि सतर्कता अपनाइरहेका छौं । यसमा अनावश्यक अफवाह फैलाउनु आवश्यक छैन्,’ मन्त्री शर्माले भने, ‘हामीले दिन नसकिने अवस्थामा छैनौं । अहिले पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब पैसा छ ।’
देशको अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो
अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको आरोप लगाएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र ठूलो संकटमा गएको भन्ने विषय कुप्रचार मात्र भएको बताए ।
यसअघि हिजो नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासयी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो । एमालेले देशको अर्थतन्त्रबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको भाेलीपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका हुन् ।
उनले अर्थतन्त्रका सूचना कमजोर भएपनि धरासायी नै नबनेको प्रस्ट पारे । ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन्,’ मन्त्री शर्माले भने ।
अर्थतन्त्र कमजोर अवस्थातिर गइरहेको भन्दै त्यसका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताए ।
सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा
अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । अर्थतन्त्रको संकट टार्न मन्त्रालयले सरकारी कार्यालमा हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको बताए । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री शर्माले बताए ।
सर्वसाधारणलाई समेत पेट्रोलियम इन्धनको प्रयोग घटाउन आह्वान गर्नेगरी प्रस्ताव गरिएको उनले जनाए । भारतीय बजारमा पेट्रोलियम पदार्थको तस्करी रोक्ने विषयमा पनि सरकार लागि परेको उनको भनाइ छ ।