एनआरएनए विवाद : पदका लागि विधान संसोधन

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा अध्यक्षका प्रत्यासीहरु आफुले पद पाउने भए पछि सहमतिमा आउन राजि भएका छन् ।
अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्री केसी र रविना थापाले मंगलवार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै आफ्नो पद सुरक्षित गर्न विधान नै संसोधन गर्न मन्जुर भएको बताए ।
यद्ययी उनीहरुले एनआरएनएको एकताका लागि आफुहरु सहमतिमा आएको दावी गर्न भने छोडेनन् । संघको सचिवालयमा अध्यक्ष कुमार पन्तको रोहवरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले मार्च २४ र २५ मा एकता महाधिवेशनका गर्ने बताए ।
सोही महाधिवेशनले आकांक्षीहरुको संख्या हेरि विधान संसोधन गरिने छ । अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ-आफ्नो कमजोरी स्वीकार गरेको बताए । पछिल्लो सहमतिले संस्थालाई एकजुट बनाएको उनको भनाइ छ ।
यद्यपी संस्थाका प्रमुख संरक्षक शेष घलेले आह्वान गरेको महाधिवेशन मंगलवार नै काठमाडौंमा शुरु भएको छ । पत्रकारहरुद्वारा सोधिएको प्रश्नमा अध्यक्ष पन्तले शेष घलेलाई पनि सहमतिमा ल्याउन प्रयास भइरहेको दावी गरे ।
अध्यक्षका उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीहरूलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताए । पद भन्दा पनि पद्धतिका लागि एकजुट हुनु परेको उनको भनाइ थियो । संस्थालाई एकजुट बनाएर अगाडि अहिलेको आवश्यकता रहेको उनले औल्याए ।
अध्यक्षका उम्मेदवारद्वय केसी र थापाले पनि संस्था जोगाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।

पत्रकार सम्मेलनमा जनाइए अनुसार अध्यक्ष पन्तले उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि पन्तले फिर्ता लिने छन् । त्यसैगरी असन्तुष्ट पक्षका तर्फबाट दायर मुद्दा पनि फिर्ता हुने पन्तले जानकारी दिए । तर अहिले सम्म असन्तुष्ट पक्षबाट मुद्दा फिर्ता लिनेबारेमा केही बताइएको छैन ।
संस्थामा तीन अध्यक्ष हुने भए पनि अन्य पदको पूर्ण खाका भने तयार नभइसकेको अध्यक्ष पन्तले बताए । ‘यो अधिकार महाधिवेशनलाई दिइन्छ ।’ पन्तले भने ।
मुख्यतय प्रतिनिधि छनौट विधान विपरित भएको भन्दै कुल आचार्य समुहले विरोध गरे पछि गत अक्टुवरमा नै हुने पर्ने एनआरएनएको निर्वाचन अहिले सम्म थाति छ ।
तर आफ्नो पद सुरक्षित हुने भए पछि यस अगाडि विधान विपरित भएका भनिएका सबै काम पनि सदर हुने भएको छ ।
अध्यक्षका उमेदवारद्वाराहरु जारि गरिएको प्रेस विज्ञप्ति
