टुंगोमा पुग्न सकेन सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक, भोली बिहान पुन: बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ । एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो ।
कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।
बैठकमा कांग्रेसको तर्फबाट प्रधामन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण प्रसाद सिटौला सहभागी थिए ।
यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल सहभागी थिए । जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने अडानमा छन् । प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा छन् ।
बैठक पछि सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए ।
बहस अझै जारी नै रहने भएकाले भोलि पुनः यस विषयमा छलफल हुने उनले बताए । ‘आज गम्भीर विषयमा गम्भीर छलफल भयो । भोलि बिहान १० बजे पुन: बैठक बस्ने छ,’ उनले भने ।
उनले बैठकमा संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे छलफल भएको बताए । उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्याउने गरी छलफल हुने बताएका छन् ।