आन्दोलनको विकल्प नभएको साहको ठहर

रौतहट / नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले देशमा बढ्दो राजनीतिक सङ्कटलाई रोक्न आन्दोलनको विकल्प नभएको बताएका छन् ।
नेता साहले सत्ता गठबन्धनको सिन्डिकेट तोड्न पनि सडक आन्दोलनको आवश्यकता भैसकेको बताए ।शनिवार रौतहटमा एमाले देवाही गोनाही नगर सभालाई सम्बोधन गर्दै साहले सत्ता गठबन्धनको दबाबका कारण सरकारले निर्वाचनसम्बन्धी कुनै पनि निर्णय गर्न नसकेको आरोप लगाए ।
उनले समयै निर्वाचन गराउनलाई दबाब दिन आन्दोलनको आवश्यक भएको बताए ।पूर्व मन्त्री समेत रहेका साहले भने,‘सत्ता गठबन्धनले आफू अनुकूल निर्वाचन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावमा पार्न अनेक हतकण्डा अपनाइरहेको छ ।’ चुनावका लागि निर्वाचन आयोगले सरकारलाई पटक पटक ध्यानाकर्षण गराइसक्दा पनि गठबन्धनकै दबाबका कारण सरकारले कुनै ठोस निर्णय लिन नसकेको उनको आरोप थियो ।नेता साहले गठबन्धनको सिन्डिकेटबाट देशलाई बचाउनको लागि सडक आन्दोलनबाहेक कुनै विकल्प नरहेको बताए ।
जालझेल र अदालतको सेटिङबाट जन्मिएको दलाल गठबन्धनको सरकारले देशमा संस्थागत रूपमै भ्रष्टाचार एवम् लुट आतङ्क मच्चाएको भन्दै नेता साहले त्यसलाई बन्द गर्न जनता सडकमा उत्रिनुपर्ने बताए ।