अमेरिकामा कागजपत्रविहिनलाई काम लगाएको आरोपमा एक जोडिलाई १० बर्ष जेल, साढे दुई लाख डलर जरिवना

Getting your Trinity Audio player ready...
|
अमेरिका । केन्टकी राज्यको पूर्वी जिल्लामा कागजपत्र विहिनलाई काम दिएको आरोपमा एक जोडिलाई दश बर्ष जेल र दुई लाख पचास हजार अमेरिकी डलर जरिवना तोकिएको छ ।
संघीय अदालत, अलेक्जान्ड्रिया, केन्टकीमा तीन दिने जूरी ट्रायल पछि, दम्पतीलाई कागजातविहीन कामदारहरूलाई काम र बास दिएकोमा दोषी ठहर गरि जेलसजाय र नगद जरिवाना तोकिएको हो ।
युएस इमिग्रेसन र भन्सार प्रवर्तन (आईसीई) र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) को संयुक्त अनुसन्धानले कागजातविहीन कामदारहरूलाई काम र बास दिएकोमा पत्ता लगाएको थियो ।
केन्टकीको पूर्वी जिल्लाका लागि अमेरिकी अधिवक्ता कार्लटन एस. शियर, आइभी, र एचएसआई नासभिल विशेष एजेन्ट चार्ज जेरी सी. टेम्प्लेटले शुक्रबार फैसला गरेका हुन् ।
चार घण्टाको बहसपछि, ५० बर्षिया युन झेङ वेन्डी, र ४८ बर्षिया यान क्व वू जेसनलाई व्यक्तिलाई लुकाउने, शरण दिएको वा झुट्टा बोलेको गरि चारवटा मुद्दामा दोषी ठहराइएको थियो । उनीहरूले कागजातविहीन बासिन्दा भएको थाहा पाँउदा पाँउदै पनि व्यावसायिक लाभ र निजी वित्तीय लाभ को लागी कानुन तोडेकोमा दोषि ठहराइएको हो ।
तातो तेलले सबैलाई ढुवायो
घटना अनुसार सन् २०१४ देखि २०१७ सम्म झेङ र उनकी श्रीमती वूले केन्टकीको अलेक्जान्ड्रियामा टोकियो ड्र्यागन बुफे रेस्टुरेन्ट सञ्चालन गरेका थिए । सोही रेष्टुरेन्टमा उनीहरूले कम्तिमा चार जना कागजातविहीन कामदारहरूलाई काम लगाएका थिए ।
अनुसन्धानले झेङ र वूले ती कामदारलाई आफ्नै घरमा राखेको र घरबाट काममा आउदा जाँदा पनि आफैले यातायात उपलब्ध गराउने गरेको देखाएको छ ।
रेष्टुरेन्टमा काम गर्ने क्रममा तातो तेल लागेर एक जना कामदार नराम्ररी जलेका थिए । अनुसन्धानले मालिकहरूले सुरुमा ति घाइतेलाई उपचारका लागि अस्पताल लैजान अस्वीकार गरेको देखाएको छ । प्रतिवादीकै भनाइमा ति कामदार कागजपत्र विहिन भएकाले अस्पताल पुर्याएका दुबैलाई कारवाही हुने डरमा घटनालाई गुपचुप राख्न खोजियो ।
यो अनुसन्धान तब सुरु भयो जब कामदारले अन्ततः धेरै दिन पछि उपचार पाए। उसको उपचार गर्ने नर्सहरूले हटलाइनमा फोन गरेर घटनाको जानकारी दिएका थिए ।