न्यूयोर्कमा अपरिचित व्यक्तिले धक्का दिदा एक एशियाली महिलाको ट्रयाकमा खसेर मृत्यु
अमेरिका । एक व्यक्तिले धक्का दिदा न्यूयोर्कको टाइम्स स्क्वायर सबवे स्टेशनमा शनिवार विहान एक एशियाली महिलाको मृत्यु भएको छ ।
न्यूयोर्क प्रहरीले घटनाको पुष्टी गरेको छ । तर मृत्यु हुने महिलाको बारेमा थप खुलाइएको छैन । टाइम्स स्क्वायर स्टेशनमा आउँदै गरेको ट्रेनको अगाडि ती महिलालाई धकेलिदिएको बताइएको छ ।
शनिवार बिहान साँढे नौ बजे ति व्यक्तिले ४२औँ स्ट्रीट र ब्रोडवे क्षेत्रमा महिलालाई दक्षिणतर्फ जाने आर ट्रेनको ट्रयाकमा धकेलिदिएको अधिकारिहरुले बताएका छन् ।
पीडितलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो । उनको परिचय भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । पीडितलाई धकेल्ने अभियुक्त हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।
मेयर एरिक एडम्सले शनिबार दिउँसो रेल प्लेटफर्मको भ्रमण गरे पनि अहिले सम्म घटनाका बारेमा बताएका छैनन ।
न्यूयोर्क शहरमा गत वर्ष एसियाली विरोधी घृणा अपराधहरूमा उल्लेखनीय वृद्धि अनुभव गरिएको थियो । प्रहरी तथ्याङ्कले डिसेम्बर २०२१ सम्ममा एसियालीहरूलाई लक्षित गर्ने घटनाहरू तीन सय ६१ प्रतिशतले बढेको भन्दै एनबीसी न्यूजले रिपोर्ट गरेको छ।















