पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन : गगन थापा, महामन्त्री कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता भएको बताएका छन् ।
नेपाल एकिकरण गर्दाका राजा पृथ्वीनारायण शाहको भूमिकालाई लिएर अहिले नेपाली समाज विवभाजित छ । बहुसंख्यकले पृथ्वीनारायणलाई राष्ट्रनिर्माता मान्ने गर्दछन् । केहीले उनलाई गोरखा राज्य विस्तारकको रुपमा लिने गरेका छन् ।
महामन्त्री थापाले पृथ्वीनारायण शाहको भूमिकालाई जुन कोणबाट पनि बहस गर्न सकिने बताएका छन् । ‘पृथ्वी नारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिन्छ।’
थापाले नेपालको अहिलेको भौगोलिक इकाइ पृथ्वीनारायण शाहकै कारण प्राप्त भएको पनि प्रष्ट पारेका छन् । ‘तर,जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यकालागि आवश्यक वृहत्तर भौगोलिक इकाई दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन। किनकी सत्य यही हो, आज हामीसंग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो।’
‘कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन्। पहिलो चरण भौगोलिक एकीकरण नै हो। भौगोलिक एकीकरण पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन्। यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन।’ थापाले भनेका छन् ।
‘पृथ्वीनारायण शाहको यो भुमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हु्न्छ भन्ने डर मान्नु आबश्यक छैन, न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमुल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ।’
शुभकामना सन्देशमा थापाले भनेका छन्,’हामीले कहिलेकाहीँ तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ। त्यसैले,त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मुल्याङकन गर्नुपर्छ।’
थापाले पृथ्वीनारायणलाई सम्मानपूर्वक सम्झन पनि आग्रह गरेका छन्,’३००औँ पृथ्वी जन्मजयन्तीको अवसरमा आजको दिन सम्मानपुर्वक उहाँलाई सम्झदै र हामीले बनाएको संविधानको जगमा नेपाल भित्रका सवै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गरौं ।’