सहमतिका नाममा एनआरएनएमा भ्रम छर्ने काम भयो : डा.पौडेल,महासचिवको उमेदवार

Getting your Trinity Audio player ready...
|
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रीय समन्वय समिति (आइसीसी)को नेतृत्वले सहमतिको नाममा समाजमा भ्रम छर्ने काम भएको भन्दै अमेरिकाका डाक्टर केशव पौडेलले आपत्ती जनाएका छन् ।
आगामी महाधिवेशनमा महासचिवका उमेदवार रहेका डाक्टर पौडेलले छलकपट गर्दै पेलेर जाने नियतले सङ्घको भविष्यलाई सङ्कटमा पार्ने चेतावानी समेत दिएका छन् ।
संस्थापन पक्षबाट एनआरएनको विवाद समाधानका लागि सहमति भएको भन्दै एउटा पत्र समाजिक सञ्जाल मार्फत सार्वजनिक गरे पछि डाक्टर पौडेलको भनाइ आएको हो ।
यस अगाडि आइसीसीका वर्तमान उपाध्यक्ष सोनाम लामाले पनि नेतृत्वको आलोचना गर्दै विज्ञप्ति जारी गरेका थिए ।
डाक्टर पौडेलद्वारा जारी विज्ञप्ति
गैर आवासीय नेपाली सङ्घको वर्तमान कार्यसमितिका केही व्यक्तिहरूले विधि, प्रक्रिया र प्रचलित अभ्यासलाई मिचेर मनोमानी ढङ्गले प्रतिनिधि चयनमा गरेको धाँधली, एमआइएस सिस्टमका नाममा सदस्यहरूको विवरण लिएर त्यसलाई दुरुपयोग गरी एनसीसी जापानको निर्वाचनमा भारत र नेपालबाट मतदान गरी निर्वाचन प्रभावित गरिएको प्रमाणित दस्ताबेज, आइएलओको सहयोग फन्डमा गरिएको भ्रष्टाचार, सरकार विरुद्धको मुद्दा लगायतका गंभिर अपराध र षडयन्त्रलाई ओझेलमा पार्न मात्र सहमतिका नाममा बार्ता र विवाद समाधान उच्चस्तरीय समिति बनाइएको छर्लङ्ग हुँदै छ ।
समस्यालाई सही ढङ्गले संवोधन गर्ने, निकास दिने भन्दा पनि पदीय दुरुपयोग गरेर छलकपट गर्दै पेलेर जाने नियतले सङ्घको भविष्यलाई सङ्कटमा पार्छ ।
मिलेर नै जाऔँ, टेबलमा बसेर समस्याको समाधान गरौँ, विधि र प्रक्रियाबाट चलौँ संस्थाको बृहत् हितका लागि सहमतिको जग निर्माण गरौँ भन्ने हाम्रो चाहाना र लचकतालाई कमजोरीको रूपमा नबुझियोस् ।
समस्या जस्ताको तस्तै राखेर सर्व पक्षीय सहमति भएको भन्ने भ्रामक प्रचार प्रति खेद व्यक्त गर्दछु। संघका जिम्मेवार व्यक्तिहरूको अवान्छनिय गतिविधिले संघको साख अझै गिरेको छ।
यस्ता गतिविधि तुरुन्त बन्द गरी संस्थाको मेरुदण्डका रूपमा रहेका नवनिर्वाचित राष्ट्रिय समन्वय परिषदहरुको भेलाले दिएका सुझावको कार्यान्वयन, सल्लाहकार समितिले दिएको सल्लाह र विधि विधान भित्र रहेर अगाडि बढौँ ।
अध्यक्ष सहित बहुमत सदस्यको राजीनामा पछि विघटित निर्वाचन समितिले अव निर्वाचन गराउन मिल्ने कुनै आधार छैन ।
सबैको सहमतिमा नयाँ निर्वाचन समिति गठन गरी यथाशीघ्र निर्वाचन गर्नका लागि काम थाल्न सम्बन्धित पक्षसँग माग गर्दछु।
डा केशव पौडेल
महासचिव पदको उम्मेदवार
एनआरएनए कार्यकाल २०२१–२०२३
यो पनि हेर्नु होस ।