न्यूयोर्कले बेहोर्यो ३० बर्षकै भयानक आगलागी,१९ तले भवनमा १९ जनाले गुमाए ज्यान
अमेरिका । न्यूयोर्क शहरले आइतवार बिहान आगलागी घटनामा ३० बर्ष यताकै ठूलो पीडा सहन पुग्यो ।
१९ जनाको ज्यान जानेगरि ब्रोंक्स अपार्टमेन्ट भवनमा भएको आगलागी शहरका लागि तीन दशक यताकै ठूलो हो । जहाँ नौ बालबालिकाको पनि जीवन समाप्त भयो ।
पश्चिम ब्रोंक्समा रहेको १९ तले भवन ३३३ इ १८१ स्ट्रीटमा बिहान ११ बजेभन्दा ठीक अगाडि भवनमा आगो निस्किएको फायर डिपार्टमेन्ट न्यूयोर्कले ट्वीट मार्फत जानकारी दिएको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा केही क्षणमा नै आगोका मुश्ला र धुँवा झ्यालबाट बाहिर निश्किरहेका देखिन्थे । फायर डिपार्टमेन्टले दुई सय जना अग्नि नियन्त्रकले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको अर्को ट्वीट गर्यो ।

अग्नि नियन्त्रकले ६३ जनाको उद्दार गरे । तर त्यस मध्ये १९ जनालाई जीवत उद्दार गर्न सकेनन । अस्पताल भर्ना गरिएकाहरुमा पनि ३२ जनाको अवस्था गम्भिर भनिएको छ । सार्वजनिक भिडियोमा अग्नि नियन्त्रकले धेरै नै मेहनत गरेको देखिन्थो ।
उद्दारको क्रममा एक जना अग्नि नियन्त्रक नै घाइते भएका छन् । अग्नि नियन्त्रक उद्दारमा खट्दै गर्दा शहरका मेयर एरिक एडम्स पनि घटना स्थल पुगे ।
उनले पत्रकारहरु सँग कुरा गर्ने क्रममा आधुनिक समयमा न्यूयोर्क शहरमा देखेको सबैभन्दा खराब आगो मध्ये एक भनेर टिप्पणी गरे ।
‘यो आगलागीको प्रभावले यस शहरमा वास्तवमै पीडा र निराशाको स्तर ल्याउनेछ,’ मेयरले पत्रकारहरु सँग भने ।

घटना स्थलमा नै पुगेका न्यूयोर्क अग्नि नियन्त्रण विभागका आयुक्त ड्यानियल निग्रोले तीन मिनेटमा आगो दोस्रो र तेस्रो तल्लामा फैलिएको बताएका छन् ।
‘धुवाँ भवनको सबै क्षेत्रमा फैलियो र अवस्था पूर्ण रुपमा असमान्य भयो,अग्नि नियन्त्रकले हरेक तल्ला र सिँढीहरुमा पीडितहरू भेट्टाए।’ निग्रोले अगाडि भने, ‘जीवनलाई यति डरलाग्दो क्षति हुने आगलागी ३० वर्षअघि ब्रोन्क्सको ह्याप्पी ल्यान्डमा भएको आगलागी थियो।’

सन् १९९० मार्चमा ह्याप्पी ल्यान्ड सोसल-क्लबमा भएको आगजनीमा ८७ जना मारिएका थिए । जुन एक माइलभन्दा कम दूरीमा भएको थियो । सो आगलागीलाई अहिले सम्म न्युयोर्क शहरको घातक आगलागी भनिन्छ ।
त्यस पछि सन् २०१७ डिसेम्बर २८ को रात ब्रोंक्सकै एक अपार्टमेन्ट भवनमा लागेको आगोमा एक वर्षको बच्चा सहित १३ जनाको मृत्यु भएको थियो ।
आगलागीको कारण अहिलेसम्म दमकल अधिकारीहरूले बताउन सकेका छैनन । उनीहरुलाई आगो नियन्त्रणमा लिन एक घण्टा लागेको थियो ।

निग्रोले भने ‘मलाई के थाहा छ, त्यो अपार्टमेन्टको ढोका खुला राखिएको थियो जसको कारण आगो र धुवाँ फैलियो, जुन हाम्रो लागि सधैं समस्या हो।’
निग्रोका अनुसार भवनका प्राय झ्याल भाँचिएका छन् । यस्तै केही तलाहरुमा पनि आगोले क्षति पुर्याएको छ ।
(न्यूयोर्क पोष्टको सहयोगमा)
(फोटो न्यूयोर्क अग्निनियन्त्रण विभागको टुइटरबाट)















