कांग्रेसमा कोइराला समुहको बैठक : पौडेल देउवाको सहयोगि भए, सहअस्तित्व लडाइ जारी राख्ने
काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशन सभापतिमा दोस्रो भएका डाक्टर शेखर कोइराला पक्षले आफुहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेर बहादुर देउवालाई सहयोग गर्न तयार रहेको तर आत्म समर्पण नगर्ने निष्कर्ष निकालेको छ ।
राजधानीमा मंगलवार सम्पन्न समुहको बैठकले महाधिवेशनमा नेता रामचन्द्र पौडेलको भूमिका देउवाको सहयोगिको रुपमा रहेको पनि समिक्षा गरेको छ ।
बैठकमा कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल लगायत नेताको उपस्थित रहेको जनाइएको छ ।
नेता अर्जुन नरसिंह केसीका अनुसार बैठकले महाधिवेशन र त्यस पछिका घटनाक्रमको पनि समिक्षा गरेको छ । ‘पार्टी भित्रको वरियता र राष्ट्रियसभाको टिकट वितरण प्रकृयाले देउवा एक्लै हिड्न खोजेको देखियो’ बैठक पछि केसीले भने ।
केसीका अनुसार बैठकमा कोइरालाले सभापति देउवा पार्टी एकताको सन्देश दिन छोडेर गुट चलाउन प्रयासरत देखिएको धारणा राखेका थिए ।
यस्तै देउवाले प्रतिशोध साँध्न शुरु गरेको पनि कोइराला पक्षका नेताहरुले निष्कर्ष निकालेका छन् । डा. चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनित नगर्नु त्यसको उदाहरण भएको उनीहरुले ठहर छ ।
देउवाले रामचन्द्र पौडेललाई बोकेर आफुहरुलाई पेल्ने रणनीतिमा देउवा लागेको भन्दै यसविरुद्ध राजनीतिक सघंर्ष जारी राख्ने सहमति गरेको जनाइएको छ । आफु उमेदवार हुन नपाए पछि पौडेल देउवालाई सहयोगिको रुपमा सधाउन पुगेको पनि बैठकले ठहर गरेको छ ।
पार्टीभित्रको पछिल्लो घटनाका बारेमा बुधवार थप छलफल गर्ने र सो छलफलमा १४ औं महाधिवेशनमा आफ्नो समुहको प्यानलबाट चुनाव लडेका सबै उम्मेदवार, प्रदेश सभापति र प्रत्याशीलाई बैठकमा बोलाइएको छ ।















