पेन्सिलभेनियाबासीका लागि खुसीको खवर : चर्को मेडिकल बीलबाट अव पाउनु हुनेछ छुटकरा
अमेरिका । तपाई पेन्सिलभेनिया बस्नुहुन्छ ? अनि कहिलेकाही आश्यर्य नै पार्ने गरि मेडिकल बिलहरु पाउनु भएको छ ? यदी त्यस्तो छ भने अब तपाईहरुका लागि खुसीको खवर छ ।
यही जनवरी १ तारिक देखि तपाईले त्यस्तो चर्को बील प्राप्त गर्नु हुने छैन् । पेन्सिलभेनिया राज्य सरकारले ‘संघीय नो सरप्राइज ऐन’ लागू गरेको छ ।
गभर्नर टम उल्फले सोमवार एक ट्वीट मार्फत नयाँ ऐन लागु भएको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘अब पेन्सिलभेनियालीहरूलाई आश्चर्यचकित मेडिकल बिलहरूको लागि जिम्मेवार ठहराउन सकिँदैन।’
आफुलाई आश्चर्य हुने गरि मेडिकल बिलहरु आएमा पेन्सलभेनिया इन्सुरेन्श विभागमा उजुरी गर्न पनि गभर्नर उल्फले आग्रह गरेका छन् ।
‘यो कानूनले चिकित्सा आपतकालिन, शल्यक्रियाहरू, र प्रमुख प्रक्रियाहरू पछि अचम्म लाग्ने लागतहरूबाट तपाईंलाई बचाउँछ।’ गभर्नरले आश्वस्त पारेका छन् ।
के हो नो सरप्राइजेस ऐन
नो सरप्राइजेस ऐनले बिरामीहरूलाई ढाडै सेक्ने गरि आउने बीलबाट जोगाउने छ । बिरामीले अन्जानमा आफुले खरिद गरेको स्वास्थ्य बीमाको नेटवर्क भन्दा बाहिरबाट स्वास्थ्य सेवा लिएको भए ठूलो बील आउने गर्दछ । तर अब त्यस्तो हुने छैन ।
कतिपय ठाँउमा यसलाई सन्तुलन (ब्यालेन्स) बील पनि भन्ने गरिन्छ । तर तपाईले जानिजानि आफुले खरिद गरेको नेटवर्क भन्दा बाहिरको सुविधा लिनु भयो भने चै यो एनले छुदैन ।
नो सरप्राइजेस ऐनले कसरी मद्दत गर्छ?
नो सरप्राइजेस ऐनले आपतकालीन र नियमित दुवै तर्फका बिरामीलाई सुरक्षा प्रदान गर्दछ। आपतकालीन सेवाहरूमा इमर्जेन्सी कक्षमा लिइने सबै सेवा, एम्बुलेन्स सेवा, एयर एम्बुलेन्स सेवा यदी पूर्व स्वीकृति बिना नै प्रयोग गरिएको भए पनि अब बीमा कम्पनीले नेटवर्क भित्रकै मानि कभर गर्न आवश्यक हुन्छ ।
तपाईले खरिद गरेको बीमा नेटवर्कको कभरेजमा छ छैन भन्ने कुराले फरक पार्दैन । जवकी यस अगाडिको ऐनले ग्राउन्ड एम्बुलेन्स सेवाहरू कभर गर्दैन थियो ।
पेन्सिलभेनिया स्वास्थ विभागले जारी गरेको सुचनामा जनाइए अनुसार आकस्मिक कक्ष बाहेक नियमित तर्फ पनि सुविधा लिदा विरामीले ल्याब वा प्याथोलोजिस्टको शुल्कमा सुविधा पाउने छन् ।
त्यहाँ सुविधा लिदा नेटवर्क बाहिर भए पनि नयाँ ऐनले ती सेवाहरूलाई नेटवर्क भित्रकै मानेर बील बनाइने भनेको छ ।
आफ्नो नेटवर्क भन्दा बाहिर भए पनि बिरामीले नियमित भन्दा बढी बिल तिर्नु पर्दैन । पुरानो ऐनमा नेटवर्क भन्दा बाहिर सेवा लिएमा चर्को शुल्क तिर्नु पर्दथ्यो ।
जनवरी १ २०२२ पछि तपाईले बीमा खरिद गर्दा भनिएको भन्दा बढी बील आयो भने त्यसमा असहमति जाहेर गर्न पाउनु हुने छ । त्यसरी आएका गुनासालाई सम्वन्धीत निकायले सम्बोधन गर्नु पर्ने नयाँ ऐनले बाध्यकारी व्यवस्था गरेको छ ।















